ढोरपाटन- नेकपा एमाले गण्डकी प्रदेश कमिटीले सहकारीमार्फत् बचतकर्ताको करोडौँ अपचलनको आरोपमा फरार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई निलम्बन गरेको छ। एमाले गण्डकी प्रदेश कमिटीको जेठ ९ गते बसेको बैठकले मेयर नेपालीलाई निलम्बन गर्ने निर्णय गरेको हो। एमाले गण्डकीमा नेपाली सदस्य थिए।
इमेज सहकारीका बागलुङ र पोखराका बचतकर्ताले प्रशासनमा उजुरी दिएको र अध्यक्ष नेपालीलाई अध्यागमन विभागले विदेशयात्रामा रोक लगाएकाले छानबिनका लागि निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
‘हामी निष्पक्ष छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्छौं,’ प्रदेश सचिव धनञ्जय दवाडीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सहकारीका अध्यक्ष नेपाली र सञ्चालकहरूलाई सर्वसाधारणको रकम यथाशीघ्र फिर्ता गर्न र छानबिनमा सहयोग गर्न पनि आग्रह गर्दछौं।’
सहकारीमा बचत गरेका सर्वसाधारण नागरिकले आफ्नो रकम फिर्ता माग्न थालेपछि नेपाली गत शुक्रबारदेखि सम्पर्कविहीन छन्। पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी संस्था चलाएका नेपालीले झन्डै २ अर्ब अपचलन गरेको आरोप छ।
इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका नेपाली बागलुङको ढोरपाटन नगरपालिकाका दोस्रो पटक निर्वाचित मेयर समेत हुन्।



