रौतहट- रौतहटको बागमती खोलाको किनारमा एक युवकको डुबेर ज्यान गएको छ। बागमती खोलाको किनारमा नदिजन्य पदार्थ उत्खनपछि बनेको खाडलमा जमेको पानीमा डुबेर युवकको ज्यान गएको हो।
वृन्दावन नगरपालिका वडा नम्बर १ तमाङ बस्तीका १८ वर्षीय अर्जुन प्रजाको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ।
स्थानीयका अनुसार अत्यधिक गर्मी भएपछि नुवाउन युवक नजिकको बलेरीस्थित बागमती खोलातर्फ लागेका थिए। तर उनको उत्खननपछि बनेको गहिरो खाडलमा जमेको पानीमा नुवाउने क्रममा प्रजाको मंगलवार बेलुका ज्यान गएको हो।
खाडलको औसत गहिराई पाँचदेखि ६ फिट मात्र रहेको देखिन्छ। घटनापछि मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ। यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


