काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धका समयमा १७ हजार मानिसको मृत्यु युद्धका क्रममा भएको उल्लेख गरेका छन्। त्यसलाई माओवादी वा आफूले मात्र गराएको भन्ने आरोप अन्यायपूर्ण भएको उनको भनाइ छ।
‘यो त युद्धको नियमअनुसार युद्धमा भएको कुरा हो। राज्य पक्षले कति मार्यो, विद्रोहीले कति के गर्यो भन्ने कुरा त अध्ययन गर्न सकिन्छ, अनुसन्धान गर्न सकिन्छ,’ उनले भने, ‘ १७ हजार माओवादीले, अझ प्रचण्डले? हत्याको कुरा छाड्दिनुस् मैले अहिलेसम्म एक जनालाई पिटेको पनि छैन।’
शनिबार, संक्रमणकालीन न्यायसम्बन्धी कानुनविद् खिमलाल देवकोटाको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो उल्लेख गरेका हुन्।
‘युद्धमा दुवै पक्षबाट क्षति हुन्छ। अध्ययन र अनुसन्धानबाट कसले कति गरे भन्ने पत्ता लगाउन सकिन्छ। तर सिधै प्रचण्डले १७ हजार मारे भन्नु गलत हो,’ उनको जिकिर छ।
प्रचण्डले आफूले युद्धको नेतृत्व लिएको र शान्ति प्रक्रियामा आएपछि सबै जिम्मेवारी लिने घोषणा गरिसकेको सम्झाए। तर, अहिले आफूमाथि यति धेरै आरोप लागिरहँदा पनि अन्य बुद्धिजीवी, दलहरू, विशेषगरी १२ बुँदे सहमतिमा संलग्न राजनीतिक दलहरू चुप लाग्नु दुःखद् भएको उनले बताए।


