काठमाडौं –पर्साको वीरगन्ज महानगर क्षेत्रमा आइतबार मध्यरातदेखि लगाएको कर्फ्यू हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कर्फ्यू हटाइएको जानकारी दिएका छन् ।
‘वीरगञ्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र सम्बद्ध पक्षहरुसँग आइतबार सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा उक्त कर्फ्यू आदेशलाई निरन्तरता दिइरहन पर्ने नदेखिएकाले राति १२ बजेदेखि उक्त कर्फ्यू आदेश हटाउने निर्णय भएको छ’, प्रजिअ अर्यालले भनेका छन् ।
कर्फ्यू हटाइए पनि चार किल्ला तोकेर प्रशासनले निषेधाज्ञा जारी गरेको छ । परिस्थिती सम्पूर्ण रूपमा सामान्य नभइसकेको भन्दै प्रशासनले वीरगञ्ज महानगर पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सियापुल ,उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटतर्फ वैशाख १ गतेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
वीरगञ्ज महानगर क्षेत्रमा दुई समूहबीच शनिबार बेलुका झडप भएपछि शनिबार बेलुका ६ः३० बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो ।


