काठमाडौँ- नेपालमा राजसंस्थाको समर्थनमा नाराबाजी गरेको आरोपमा अमेरिकी नागरिक जुलियन किर्पाललाई सरकारले डिपोर्ट (स्वदेश फिर्ता) गर्ने भएको छ।
गृह मन्त्रालयको निर्णयअनुसार ५८ वर्षीय किर्पाललाई दुई वर्षसम्म नेपाल प्रवेशमा रोक लगाउँदै निष्कासन (डीपोर्ट) गरिने भएको हो।
किर्पाल पर्यटक भिसामा नेपाल आएका थिए। उनी नेपालको आन्तरिक राजनीतिमा संलग्न रहेको प्रमाण भेटिएको मन्त्रालयको भनाइ छ।
‘नेपालको सार्वभौमसत्ता र कानुनी व्यवस्था अनुसार विदेशी नागरिकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अनुमति छैन,’ स्रोतले भन्यो, ‘तर किर्पालले यसलाई उलङ्घन गरेकाले स्वदेश फिर्ता गर्ने निर्णय गरिएको हो।’
गत चैत १४ गते किर्पाल माइतीघरमा राजसंस्थाको पक्षमा नाराबाजी गर्दै पम्पलेट प्रदर्शन गरिरहेका बेला पक्राउ परेका थिए।
पछिल्लो समय उनी राजावादी समूहसँग सक्रिय रूपमा भेटघाटमा संलग्न भएको पाइएपछि थप निगरानी गरिएको थियो।
सरकारी निर्णयअनुसार किर्पाललाई मंगलबार अमेरिका फर्काइनेछ।


