काठमाडौँ- एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक १०० र सो भन्दा माथिको अनलाइन ब्यालेन्स रिचार्ज गर्दा बोनस डेटा पाउने भएका छन्। एनसेल एपमा प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउने उद्देश्यका साथ कम्पनीले अन्य उपयोगी सुविधाहरू समेत समावेश गरेको छ।
सेल्फ सर्भिस एपको रूपमा रहेको एनसेल एप मार्फत १०० देखि २०० रुपैयाँसम्मको अनलाइन रिचार्ज गर्दा ग्राहकहरूले १ दिनको लागि २०० एमबी डेटा बोनस प्राप्त गर्नेछन्। त्यस्तै २०० रुपैयाँ वा सोभन्दा माथिको अनलाइन रिचार्जमा ३ दिनको लागि मान्य हुने ५०० एमबी डेटा बोनसमा पाइन्छ। स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा भने डेटा बोनस लागु नहुने कम्पनीले स्पष्ट पारेको छ।
यो बोनस अफरले ग्राहकहरूलाई डिजिटल माध्यम अपनाउन प्रोत्साहित गर्नुका साथै बोनस डेटाको फाइदा दिने एनसेलको विश्वास छ। यसका साथै कम्पनीका ग्राहकले एनसेल एप मार्फत् एपमा उपलब्ध विविध सेवा, सुविधाहरू उपयोग गरी त्यसको फाइदा समेत लिन सक्छन्।
ग्राहकमैत्री यो एपले प्रयोगकर्ताहरूलाई दुई क्लिकमै विभिन्न सेवा उपयोग गर्न सकिने सुविधा दिएको छ। जसले गर्दा यो एउटा नभई नहुने सेल्फ केयर टुलको रूपमा समेत स्थापित हुँदै गएको छ।
एनसेल एप मार्फत् प्रयोगकर्ताहरूले सजिलै डेटा तथा भ्वाइस प्याक, सधैँ अन प्याकहरू, सधैँ अन रिनुअल प्याकहरू लिन सक्छन्। साथै अनलाइन रिचार्ज गर्नेदेखि आफ्नो सेवा प्रयोगको विवरण हेर्न सक्नेसम्मका सुविधा यसमा रहेका छन्। डेटालाई भ्वाइसमा वा भ्वाइसलाई डेटामा परिवर्तन गर्न सकिने सुविधा पनि यही एपमा छ।
साथै ग्राहकले प्याकलाई उपहारको रूपमा पठाउन सक्छन्। अन्य उपलब्ध सुविधाहरूमा अनलाइन तथा अफलाइन गेम, अनलाइन समाचार, मासिक बिल हेर्ने सुविधा, सेवा सक्रिय गर्ने वा लिएका सेवा निष्क्रिय गर्ने सुविधा, रोमिङ सेवा लगायत छन्।
विभिन्न उद्देश्यले छोटो वा लामो समयका लागि विदेश जाने एनसेलका ग्राहकहरूका लागि पनि यो एक प्रभावकारी सेल्फ सर्भिस एप हो। जसले उनीहरूलाई सजिलै रिचार्ज गर्न, प्याक खरिद गर्न र रोमिङ सेवाका साथ सजिलै सम्पर्कमा रहन मद्दत गर्छ।
एनसेलका ग्राहकहरूले एनसेल एप गुगल प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्न सक्छन्।


