काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगाएतका सामाजिक सञ्जालमाथि बन्द गरिने बताएका छन्।
शुक्रबार काठमाडौँमा सञ्चारिका समूह नेपालको ९औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लाग्ने स्पष्ट पारेका हुन्।
सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एकमहिनाको म्याद सकिन केही दिन बाकि रहेको भन्दै उनले फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उल्लेख गरे। उनले सामाजिक सञ्जालसम्बन्धी कानून कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभइ नियमन गर्नका लागि ल्याइएको स्पष्ट पारे।
त्यस्तै मन्त्री गुरुङले चैत्र १५ गते काठमाडौंमा राजावादीले गरेको आन्दोलन प्रतिगामी र संविधान विरोधी आन्दोलन भएको बताए।
शान्तिपूर्ण भेला हुन पाउने अधिकार, संविधान बिपरितको कार्यका लागि प्रयोग गर्दा हिंसात्मक घटना भएको भन्दै उनले त्यसमा संलग्न सवैलाई कारवाही हुने स्पष्ट पार्नुभयो। उहाले मुलुकमा राजतन्त्रको कुनै गुञ्जायस नरहेको जिकिर गरे।
उनले प्रविधिको दुरुपयोग गर्दै मुलुक, राजनीतिक दलका साथै जनतालाई कमजोर बनाउने काम भइरहेको भन्दै सरकार गम्भीर भएर यसलाइ रोक्न लागिपरेको बताए।
नेपालमा करिब साढे १ करोड मानिसले फेसबुक चाउने गरेका छन्। सूचना तथा सञ्चार मन्त्रालयले चेतावनी दिँदै फेसबुक, एक्स अर्थात (ट्विटर), टिकटकजस्ता सञ्जालहरूलाई वैशाख ७ भित्रै दर्ता हुन निर्देशन दिइसकेको अवस्था छ। तर, ठूला टेक कम्पनीहरू खासै गम्भीर देखिएका छैनन्।
यद्यपि, मेटाका प्रतिनिधिसँग प्रारम्भिक छलफल भइरहेको बताइएको। तर ठोस निकास निस्किएको छैन। सरकारले सूचना जारी गर्नु अघि नै तीनवटा सामाजिक सञ्जाल दर्ता भएर सक्रिय भइसकेका छन्। भाइबर मिडिया, टिकटक, र सारांश मिडिया ल्याब प्रालि (विटक) सूचीकरण भइसकेका छन्।
फेसबुक, ह्वाट्सएप, वीच्याट, स्नापच्याट, टेलिग्राम, इन्स्ट्राग्राम, युट्युब, एक्स अर्थात (ट्विटर) जस्ता ठूला सामाजिक सञ्जाल दर्ता बिना नै चलिरहेका छन्।
त्यस्तै, नेटफ्लिक्स, लिंकेडइन, थ्रेड्स, डिस्कोर्ड, र रेडडिटजस्ता लोकप्रिय प्लेटफर्म पनि छन्। तर यी कुनै पनि कम्पनीले दर्ता हुन चासो देखाएका छैनन्।
सामाजिक सञ्जाल, इन्टरनेट प्रयोग, मोबाइल कनेक्टिभिटी तथा डिजिटल ट्रेन्डका बारेमा अध्ययन गर्ने डाटा रिपोर्टलका अनुसार नेपालमा सन् २०२५ सम्म १ करोड ४३ लाख भन्दा बढीले फेसबुक चलाउँछन्। इन्स्टाग्राम चलाउनेको सङ्ख्या ४२ लाख छ। ह्वाट्एसप चलाउनेहरु ५० लाख हारहारीमा छन्। यी सबै कम्पनी मार्क जुकरबर्गको मेटा कम्पनीले सञ्चालन गर्दै आएको छ।
ट्विटर चलाउनेको सङ्ख्या ४३ लाख हाराहारीमा रहेको बताइएको छ।
सामाजिक सञ्जाल र डिजिटल सेवामार्फत राजस्व संकलन गर्ने सम्भावना अत्यन्तै उच्च छ। हालसम्म १९ वटा अन्तर्राष्ट्रिय डिजिटल सेवा प्रदायकहरू नेपालमा दर्ता भइसकेका छन् । सरकार यिनीहरूबाट २ प्रतिशत सेवा कर संकलन गर्न पहल थालेको छ।
