काठमाडौँ- आन्दोलनरत शिक्षकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन्। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गर्दै आएका शिक्षक शुक्रवार साँझ ७ बजे छलफलका लागि बालुवाटार जाने भएका हुन्।
नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार प्रधानमन्त्रीको सचिवालयबाट छलफलका लागि बोलाइएको हो। संघका प्रतिनिधि निर्धारित समयमा सहभागी हुने तयारीमा छन्।
गत चैत २० गतेदेखि शिक्षासम्बन्धी मागसहित आन्दोलनमा उत्रिएका शिक्षकहरू काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्री र सभामुखसँग मात्र वार्ता गर्ने अडान राख्दै आएका छन्।
प्रधानमन्त्री कार्यालयबाट छलफलको प्रस्ताव आएपछि शिक्षक महासंघले सकारात्मक रूपमा लिएको जनाएको छ। अबको वार्ताबाट समस्याको समाधान हुने अपेक्षा गरिएको छ।
विगतमा गरिएका सहमति कार्यान्वयन गर्न र तत्काल शिक्षा ऐन जारी गर्न माग गर्दै १७ दिनयता शिक्षकहरू सडक आन्दोलनमा छन्।
शिक्षकको आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा परेको छ भने एसईईको उत्तरपुस्तिका परीक्षणको काम पनि रोकिएको छ।
