मध्यविन्दु- बाबुआमाले लछारपछार गर्दा चार महिनाको शिशुको मृत्यु भएको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका–१ अर्मलेका स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गए राति मादक पदार्थ सेवन गरी चार महिनाको छोरालाई लछारपछार गर्दा उनको मृत्यु भएको हो।
बाबुआमाको लछारपछारबाट गम्भीर घाइते बनाइएका शिशुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।
मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेको अवस्थामा स्थानीयले देखेपछि रामपुर अस्पताल पाल्पा लगिएको थियो। उनको सोही अस्पतालमा उपचारका क्रममा शिशुको मृत्यु भएको प्रनाउ नेपालले बताए।
शिशुका २१ वर्षीय बाबु दीपेन्द्र र ३५ वर्षीया आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आमा कमला परियार दीपेन्द्र परियारसँग केही वर्षअघि दोस्रो विवाह गरी आएको स्थानीय सुकबहादुर नेपालीले बताए।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


