म्यानासास पार्क- अमेरिकाको भर्जिनिया म्यानासास पार्क निवासी नेपाली नर्स ममता काफ्ले (भट्ट)को हत्यासम्बन्धी मुद्दाम नयाँ सुनुवाइको मिति तोकिएको छ। ममताका पति नरेश भट्ट नै मुख्य अभियुक्त रहेको यो मुद्दामा सुनुवाइ अप्रिल २५ मा हुने भएको हो।
आफ्नै पत्नी ममताको हत्या गरी शव लुकाएको आरोपमा भट्टविरुद्धको मुद्दा सुनुवाइ भइरहेको हो। अमेरिकी सञ्चार संस्था डब्ल्युयुएसएका अनुसार अप्रिल २५ को सुनुवाइमा अमेरिकाबाहिरका एक साक्षीलाई अदालतमा झिकाइने छ।
यो मुद्दामा नरेशको संलग्नताबारे आगामी सेप्टेम्बरमा सुनुवाइ हुने तय छ। म्यानासास पार्क प्रहरी प्रमुख मारियो लुगोका अनुसार ममता काफ्ले भट्टको खोजी कार्य अझै जारी रहेकै अवस्थामा अर्को सुनुवाइ गर्न लागिएको हो।
ममता अन्तिमपटक २०२४ जुलाई ३१ मा देखिएकी थिइन्। अगस्ट ५ मा नरेश भट्टले आधिकारिक रूपमा पत्नी सम्पर्कविहीन भएको रिपोर्ट गरेका थिए। तर अनुसन्धान अघि बढ्दै जाँदा प्रहरीलाई उनका भनाइमा विभिन्न अमिल्दा कुरा देखिएको बताइएको छ। नरेश अगस्ट २२ मा पक्राउ गरिएको थियो।
