काठमाडौं – २१औँ दिनदेखि काठमाडौँमा जारी शिक्षक आन्दोलन आजबाट थप कठोर हुनेभएको छ। नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन आज ११ बजे देखि २ बजे सम्म गर्ने समय सिमा तोकेको छ । जस अनुसार सम्पूर्ण शिक्षकहरुलाई माइतीघर मण्डला आउन अपिल महासंघले गरेको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनलाई थप कडा र दरिलो बनाउनको लागि गाउँ गाउँमा भएका साथीलाई काठमाडौं बोलाउन सम्पूर्ण शिक्षकहरुलाई अनुरोध गरेका छन्।
अध्यक्ष सुवेदीले फेसबुक मार्फत भनेका छन्, ‘गाउँघरमा रहेका आफ्ना साथीलाई काठमाडौं बोलाउनुहोला ताकि निर्णायक घडीमा आन्दोलनमा समाहित भएको गौरव उहाँहरुलाई पनि प्राप्त होस्।’
महासंघले बिहान ९ बजेदेखि आन्दोलन गर्दै आएकोमा बुधबारदेखि भने बिहान ११ बजेदेखि सुरु गरेर दिउँसो २ बजेसम्म प्रदर्शन गर्ने जानकारी गराएका हुन् ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका अधिकांश शिक्षक चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । शिक्षक आन्दोलनकै कारण कक्षा १२ को परीक्षा सरकारले वैशाख २१ गतेदेखि गर्नेगरी सारेको छ।
उनले महासङ्घले निषेध गरेका कुनै पनि काम नगर्न शिक्षकसँग आग्रह गरेका छन्। बुधबारको आन्दोलनमा राष्ट्रिय समितिको मुख्य ब्यानरपछि क्रमशः सुदूरपश्चिम, कर्णाली, लुम्बिनी गण्डकी, बागमती, मधेश र कोशी प्रदेश बस्ने व्यवस्था गरिएको उनको भनाइ छ।


