भारतको जम्मु–काश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा मंगलबार भएको आतंकवादी हमलामा मारिएका नेपालीको ठेगाना खुलेको छ। उनी रुपन्देही जिल्लाका स्थानीय सुदीप न्यौपाने भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका अनुसार सुदीप रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर-११ मा बसोबास गर्दै आएका थिए।
सुदीपकी आमा रेनु पाण्डे घटनामा परी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सुदीप बुटवल उपमहानगरपालिका-१४ का वडाध्यक्ष दधिराम न्यौपानेका आफन्त हुन्। सुदीप नातामा दधिका भतिजा पर्छन्। आमासँग बुटवल-११ कालिकानगरमा बस्दै आएका सुदीप धरानमा पब्लिक हेल्थ पढ्दै आएका थिए।
गत शनिबार आमा रिमा पाण्डे, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित घुम्न भन्दै कश्मिर गएका सुदीपमाथि बन्दुकधारीहरूले अचानक आक्रमण गरेका थिए।
भारतीय सञ्चारमाध्यमले हमलामा मारिनेको संख्या अहिलेसम्म २८ पुगेको उल्लेख गरेका छन्। मृतकको संख्या बढ्न सक्ने बताइएको छ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार आतंककारीहरुले हिन्दूलाई छानिछानी हत्या गरेको र हत्या हुनेमा नेपाली र यूएईका नागरिक पनि परेका हुन्।
बन्दुकधारीले पर्यटकमाथि धर्म सोध् गोली चलाएका थिए। आतंककारीहरुको आक्रमणबाट दर्जनौँ घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
आक्रमणको जिम्मा लस्कर–ए–तोएबाले लिएको छ। आक्रमणको जिम्मा लिएको लस्कर–ए–तोएबा कस्मिर क्षेत्रमा सन् १९८९ देखि भारतबाट अलग हुने वा पाकिस्तानसँग मिल्न पाउनुपर्ने माग राखेर सशस्त्र विद्रोह चलाइरहेका संगठनमध्ये एक हो।
घटना भएको पहलगामको बैसरन उपत्यका लेकमा अवस्थित घाँसेमैदान हो। घाइतेहरुका अनुसार आक्रमणकारीले जंगलबाट बाहिर निस्केर अन्धाधुन्ध गोली चलाएका थिए। पहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकमाझ लोकप्रिय गन्तव्यस्थल हो।
आक्रमणस्थल पैदल वा घोडामा मात्र पुग्न सकिने भएकाले आक्रमणपछि घाइतेको उद्धारका लागि सैन्य हेलिकोप्टर परिचालन गरिएको थियो । भारतका केन्द्रीय मन्त्री अमित साह आक्रमणलगत्तै जम्मु–कस्मिरको राजधानी श्रीनगर पुगेका छन्। त्यहाँ साहले सबै एजेन्सीहरू सम्मिलित सुरक्षा समीक्षा बैठक बसाएका थिए।
जम्मु–काश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले आक्रमण विगतको भन्दा निकै ठुलो भएको बताए। भारतले पाकिस्तानमाथि यस्ता आक्रमणमा सहयोग पुर्याएको आरोप लगाउने गरेको छ भने पाकिस्तानले कस्मिरको आत्मनिर्णयको अधिकारको समर्थन मात्र गर्ने बताउँदै आएको छ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमणमा रहेका बेला यो आक्रमण भएको छ।


