काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वैशाखभित्रै शिक्षा ऐन पारित गर्ने दाबी गरेका छन्। बुधबार सभामुख देवराज घिमिरेसमक्ष दलका प्रमुख सचेतक र सचेतकहरूको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट अधिवेशनबाटै शिक्षकका माग सम्बोधन हुने बताएका हुन्।
उनले विद्यालयमा फर्कन पनि शिक्षकहरूलाई आह्वान गरे। ‘शिक्षक साथीहरूलाई विश्वस्त पार्ने गरी उहाँहरूको भावनालाई पनि सम्मान गर्ने गरी काम गरिरहेका छौँ,’ उनले भने, ‘हामीले काम गरिरहेका कुराहरूलाई पनि उहाँहरूले पनि सकारात्मक ढंगले ग्रहण गरिदिनुपर्ने अवस्था छ।’
संसद् अधिवेशनको नियमित कार्यसूचीका नीति तथा कार्यक्रमलाई रोकेर भए पनि शिक्षा विधेयक पारित गर्ने उनको भनाइ छ।
‘सार्वजनिक शिक्षाप्रतिको उहाँको जवाफदेहिता के छ? उहाँहरू स्वयंले जान्नुहोस्। त्यसप्रति जवाफदेहितामा उभिनुपर्छ होला भन्ने ठान्नुहोस्,’ उनले थपे, ‘तर सरकारले उहाँहरूको न्यायोचित मागहरू पूरा गर्छ भन्ने कुरामा, समयमै विधेयक आउने कुरामा संसद्ले काम गरिरहेको छ।’ शिक्षकहरू तीन हप्तायता विभिन्न मागसहित काठमाडौँ केन्द्रित सडक आन्दोलन गरिरहेका छन्।


