काठमाडौँ- काठमाडौंका सडक केन्द्रित शिक्षक आन्दोलन गर्न आउका शिक्षक आपसी कुटाकुटमा उत्रिएका छन्।
शनिवार दिउँसो बिजुलीबजारमा प्रदर्शनका क्रममा शिक्षक नै कुटाकुटमा उत्रिएका हुन्।
कुटाकुटमा मुछिएका कैलालीको धनगढी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशी घाइते बनेका छन्।
उनी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभूत विद्यालयका शिक्षक हुन्।
आपसी मतभेदका कारण शिक्षक कुटपिटमा उत्रिएका हुन्।
जोशीको टाउकोदेखि शरीरका विभिन्न भागमा चोटपटक लागेको छ।
उनलाई तत्कालै प्रहरीको टोलीले मिनभवनस्थित सिभिल अस्पताल पुर्याएको थियो। उनको अवस्था सामान्य छ। जोशी शिक्षक महासंघकै आन्दोलनमा सहभागी हुन काठमाडौं आइपुगेका हुन्।
हाल कुटपिटकाे भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।
विगतका सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुपर्नेलगायत माग राखेर नेपाल शिक्षक महासङ्घको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन्।
शिक्षकहरूले सडक नछाड्दा नयाँ शैक्षिक सत्रको भर्नादेखि पठनपाठन नै सुरु हुन सकेको छैन। ११ वैशाखदेखि गर्ने भनिएको कक्षा १२ को परीक्षा १० दिनका लागि सरेको छ।
एसइई परीक्षाको उत्तरपुस्तिका जाँच प्रभावित भएको छ।


