काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन्। सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा पक्राउ परेका चौधरीलाई सर्वोच्चले अर्को पत्र पठाएपछि रिहा गरिएको हो।
बुधबार प्रज्ञा भवनमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताका लागि कार्यक्रम सुरु हुन लाग्दा उनी पक्राउ परेका थिए।
सर्वोच्चको रिट तथा मुद्दा महाशाखाका अधिकृत महिमानसिंह विष्टको हस्ताक्षरमा चौधरीलाई पक्राउ गर्नू भन्ने पत्र पुगेपछि काठमाडौं प्रहरी परिसरले चौधरीलाई पक्राउ गरी डिल्लीबजार कार्यालयमा बुझाएको थियो।
विष्टले लेखेको पत्र अनधिकृत भएको खुलेपछि उनी पक्राउ परेका छन्। विष्टले अनधिकृत पत्र पठाएको पत्र प्रष्टीकरण दिएको छ। सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले विज्ञप्ति जारी गरी घटनाबारे प्रष्टीकरण दिएका छन्।
चौधरीलाई रिहा हुने भएपछि उनलाई लिन जनमत पार्टीका अध्यक्ष सीके राउतसहितका नेताहरू डिल्लीबजार पुगेका छन्।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बुधबार अपराह्न विज्ञप्ति जारी गर्दै अनधिकृत रूपमा पत्र लेख्ने अधिकृतलाई कारबाही प्रक्रिया सुरु गरिएको जानकारी दिएका छन्।
‘यस अदालतको शाखा अधिकृतले च.नं. १९२७७ मिति २०८२।०१।१७ को कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अनधिकृत रहेकोले उक्त माथि उल्लेखित च.नं. र मितिको अनुरोध पत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको र अनधिकृत रूपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रक्रिया सुरू गरिएको बेहोरा सबैमा जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।
सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका महिमान सिंह विष्टले बुधबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेखेका थिए। उक्त पत्रका आधारमा नाउपा संरक्षक चौधरी पक्राउ परेका थिए भने प्रहरीले चौधरीलाई डिल्लीबजार कारागार बुझाएको थियो।


