काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले ५२ प्रतिशत विद्यार्थी फेल गराएर विद्यार्थीहरुको भविष्य चट् बनाउने काम शिक्षकहरूले गरिरहेको आरोप लगाएका छन्। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘५२ प्रतिशत फेल हुने कुरालाई उहाँले इजिल्ली लिनुभएको छ। ५२ प्रतिशत हाम्रो योङ जेनेरेसनका होनहार प्रतिभावहरू, तिनीहरूको भविष्य एसइईमै/कक्षा १० मै चट् बनाइदिएको कुरालाई उहाँले मजाकको कुरा बनाउनुभएको छ,’ उनले भने, ‘मलाई अचम्म लाग्यो उहाँको मेन्टालिटी नै त्यो छ।’
शिक्षक आन्दोलनका क्रममा एक जना शिक्षकले आफूलाई गाली गरेको भिडियो हेरेको भन्दै उनले यस्तो बताएका हुन्। ‘हिजो एक जना शिक्षकले मलाई गाली गर्दै गरेको सुनेँ, किन गाली गरेको मैले बुझेको छैन। उहाँसँग न मेरो भेट भएको छ, उहाँले देख्या पनि छैन होला,’ ओलीको टिप्पणी छ, ‘तर गाली किन गर्या, कसले सिकायो कसले पढायो थाहा छैन,उनले भने, फेसबुक मात्रै हेर्नुहुन्छ कि के हो? उहाँ भनिराख्नुभएको थियो, ४८ प्रतिशत विद्यार्थी एसईईमा पास हुनु भनेको काफी हो, धेरै हो।’
प्रधानमन्त्री ओलीले नेपाली विद्यार्थीहरू निकै प्रतिभाशाली रहेको भन्दै उनीहरुप्रति ध्यान दिनुपर्ने बताए। आफूले शिक्षण नगरे पनि शिक्षकको उक्त टिप्पणीले दुःखी बनाएको उनले बताए।
उनले भने,‘५२ प्रतिशत विद्यार्थी फेल हुँदा उहाँलाई आफूले गरेको कामप्रति अझै हामीहरूले ध्यान दिनुपर्छ होइन, म पढाउदिनँ तर मलाई दुख लाग्छ, नेपाली विद्यार्थीहरू यति धेरै ट्यालेन्ट छन्, उनीहरू दुर्गमबाट कसरी पढेका छन्, सबै विषयमा मान्छेको एउटै प्रतिभा हुँदैन, विषयगत प्रतिभा पनि हुन्छन्।’


