काठमाडौँ- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ। उपचारका क्रममा मंगलबार दिउँसो नेता नेपालको ७१ वर्षको उमेरमा निधन भएको अस्पताल उच्च स्रोतले जनाएको छ।
थापाथालीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाललाई आइसीयूमा राखेर उपचार हुँदै थियो।
नेकपा एमालेका नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए। केही वर्षदेखि उनी राजनीतिक गतिविधिमा निष्क्रिय थिए।
उनी पूर्व शिक्षामन्त्री, सञ्चार, सूचना तथा प्रविधिमन्त्री पनि बनेका थिए। नेपाल नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए।
पछिल्लो समय नेकपा एमाले विभाजन भएपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले उनलाई सल्लाहकार बनाएको थियो। साहित्य लेखनमा समेत रुची राख्ने नेपालले पञ्चायतकालमा सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य लेख्ने गरेका थिए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली वामपन्थी आन्दोलनका नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन्। नेता नेपालको निधनले आफू मर्माहित भएको सामाजिक सञ्जालमा प्रचण्डले उल्लेख गरेका छन्।
‘नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता तथा वौद्धिक व्यक्तित्व कमरेड प्रदीप नेपालको दुःखद निधनले मर्माहित भएको छु। निरंकुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा उहाँको योगदान अविस्मरणीय रहनेछ। वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ सामाजिक सञ्जालमा प्रचण्डले लेखेका छन्।


