काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले पाकिस्तानबाट ८० जना नेपाली विद्यार्थीको उद्धार गर्न माग गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले भारत र पाकिस्तान युद्धतर्फ बढेको उल्लेख गर्दै ८० विद्यार्थीको उद्धार गर्न माग गरेका हुन्। ‘पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीहरूले उद्धारको अनुरोध गर्नुभएको छ। तुरुन्त उद्धार र सुरक्षाको पहल होस्,’ उनको माग छ।
यस्तै रास्वपाकै अर्का सांसद शिशिर खनालले पनि उनीहरूको उद्धार गर्न माग गरेका हुन्।
नेपाल आतंकवादको विपक्षमा रहेको भन्ने लिखित वक्तव्य सरकारले जारी गरेको भन्दै उनले त्यसको प्रशंसा पनि गरे। ‘परराष्ट्र मन्त्रालयाले ढिलै गरेर भए पनि, हिजो साँझ व्यक्तव्यमार्फत सार्वजनिक गरेको ‘आतंकवादविरुद्धको अडान’को स्वागत गर्दै, भारत–पाकिस्तानबीच युद्धको स्थिति बन्न गएमा नेपाललाई पर्ने सक्ने सुरक्षा, आर्थिक र आपूर्ति श्रृंखलाको असरका साथै पश्चिम भारतमा र पाकिस्तानमा रहेका नेपालीहरूमाथि पर्न सक्ने प्रभावसम्मको आकलन गरी योजना निर्माण गर्न माग गर्दछु,’ उनले भने।
उनले समग्र परिस्थितिको मूल्याकंन र नेपाल सरकारको तयारीबारेमा संसदलाई जानकारी गराउन रुलिङ गर्न पनि माग गरे।


