बनेपा- वर्षाका कारण रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ। राजमार्गको माप्ती भन्ने स्थानमा गएराति राजमार्गको डाइभर्सन बाढीले भत्काएको हो।
राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार बाढीले रोशी गाउँपालिका-१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन नसकिएको हो।
प्रहरी टोली तथा स्थानीयका पहलमा बिहानैदेखि राजमार्ग खुलाउने प्रयास भइरहेको उनले बताए। गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो। राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको प्रहरीले जनाएको छ।
सोमवार काभ्रेको पनौतीमा भीषण वर्षापछि बाढी आउँदा एक जना बेपत्ता छन्। बाढी आएको कुलोले बगाउँदा पनौती नगरपालिका-५ सुब्बा गाउँकी २८ वर्षीया रेनुका गिरी बेपत्ता भएकी प्रहरीले जनाएको छ।
वर्षाले पनौती नगरपालिकाका ८ वटा वडा बढी प्रभावित भएका छन्। पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीका अनुासर वडा नम्बर ३, ५, ६, ४, ७, ८, ९, १० मा बाढीले क्षति गरेको छ।
बाढीले ३ किलोमिटर अस्थायी बाटो पनि बगाएको छ। पनौती क्षेत्रमा वर्षा भएपछि रोशी खोलामा बाढी आएको थियो। त्यही बाढीले तल गएर राजमार्गको डाइभर्सन भत्काइदिएको हो।


