काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ जनयुद्धजस्तै भएको टिप्पणी गरेका छन। प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्णसेन ‘इच्छुक’ स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
जनयुद्धजस्तै भ्रष्टाचारविरुद्धको लडाइँमा पनि दुश्मनबाट मारिने हो भन्ने ठेगान नभएको बताए। ‘बेथिति, विकृतिको विरुद्ध, भ्रष्टाचारको विरुद्धको लडाइँमा जनयुद्धको बेलामा जस्तै हाम फालेको अनुभव हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘जनयुद्धको बेलामा कतिबेला मरिन्छ भन्ने थाहा थिएन, अहिलेको लडाइँ पनि त्यस्तै त्यस्तै छ। कतिबेला घेरामा परिने हो, मारिने हो, दुश्मनको घातप्रतिघातमा परिने हो ठेगान छैन।’
प्रधानमन्त्री प्रचण्डले केही समयभित्रै अझ ठूलठूला एक्सनसमेत सरकारले लिने बताए। ‘अहिले नदेखिएको मात्रै हो। केही समयभित्रै ठुलाठुला एक्सन हुनेछन्,’ उनले भने, ‘त्यसले ल्याउने तरंग पनि ठूलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौँ।’


