काठमाडौँ- पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १८ व्यक्ति तथा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बिहिवार मुद्दा दर्ता गरेको हो।
यो प्रकरणमा आरोपीबाट ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो मागदाबी गरिएको छ। पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।
बस्नेतसँगै दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा विरुद्ध पनि टेरामक्स खरिदमा भ्रष्टाचार गरेको आरोप छ। यो प्रकरणमा १६ जना र २ कम्पनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
यसैगरी प्राधिकरणका तत्कालीन सदस्यहरु धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकणका निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवती राय पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हरिण्यप्रसाद वस्ताकोटी, उपनिर्देशक अच्युतानन्द मिश्र, प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा, निर्देशक दीपेश आचार्य, उपनिर्देशक सन्दीप अधिकारीविरुद्ध पनि यही मुद्दा परेको छ।
यस्तै परामर्शदाता भानराइज सोलुसन एसएएल र त्यसका मुख्य व्यक्ति तथा सीईओ जमल अनौती, भानराइजका लोकल एजेन्ट भनिएका कनेक्शन ट्रेड लिंक प्रालि र त्यसका अध्यक्ष दिलिप कुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेलविरुद्ध मुद्दा दायर भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
यसअघि अनुसन्धान टुंगिएको लामो समय बितिसक्दा पनि अख्तियारले टेरामक्स प्रकरणमा कुनै निर्णय गर्न सकेको थियो।


