काठमाडौँ- शुक्रबार तीव्र गतिको हावाहुरीले रुख ढल्दा शिक्षकसहित ४ जनाको मृत्यु भएको छ। कैलाली, नवलपरासी (पश्चिम) र कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा एक जना शिक्षकसहित ४ जनाको मृत्यु भएको हो भने ३ जना घाइते भएका छन्।
हावाहुरीले ढालेको रुखले च्यापिएर कैलालीको घोडाघोडीस्थित सुखडमा रहेको राष्ट्रिय माविका प्रधानाध्यापक कर्णबहादुर भण्डारीको मृत्यु भएको छ। शुक्रबार बिहान चलेको हावाहुरीका कारण सालको रुख ढल्दा ५२ वर्षीय भण्डारी घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका घोडाघोडी नगरपालिका-१ सुन्दर टोलका भण्डारीको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो।
पश्चिम नवलपरासीको सुनवलका स्थानीय मीरा बयम्बू र दुर्गाबहादुर पुनको पनि हावाहुरीले ढालेको रुखले किचेर मृत्यु भएको छ।
सुनवलमा रुख ढल्दा नरमति परियार, अनिल थापा र दुर्गेश्वरा खाम्चा मगर घाइते भएका छन्। उनीहरूको रूपन्देहीस्थित देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। नवलपरासी प्रहरीका अनुसार शुक्रबार मध्याह्न हावाहुरीसहित आएको पानीबाट जोगिन प्रतीक्षालयमा ओत लागेका वेला प्रतीक्षालयमाथि नै रुख ढलेका कारण दुई जनाको मृत्यु र तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले बताए।
यस्तै कपिलवस्तु नगरपालिका– ८ मैनिहवाकी १४ वर्षीया सुखना केवटको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। कपिलवस्तु प्रहरीका अनुसार शुक्रबार अपराह्न हावाले आँपको रुखको हाँगा भाँच्चिएर लाग्दा सुखना घाइते भएकी थिइन्। डिएसपी मोहनमणि अधिकारीका अनुसार घाइते सुखनाकालाई उपचारका लागि सदरमुकाम तौलिहवास्थित जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु घोषणा गरेका हुन्।
शुक्रबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा तीव्र गतिको हावाहुरी चल्यो। पश्चिमबाट सुरु भएको हावाहुरीसँगै केही ठाउँमा चट्याङ र वर्षासहितको प्रणाली साँझ काठमाडौंमा आइपुगेको थियो। महाशाखाका अनुसार त्रिभुवन विमानस्थल क्षेत्रमा प्रतिघण्टा ५० किलोमिटर गतिले हावाहुरी चलेको थियो। साँझ पूर्वी नेपालमा पनि हावाहुरी चलेको थियो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार र आइतबार पनि अपराह्नतिर बादल लाग्ने र अपराह्नपछि केही ठाउँमा वर्षा हुन सक्ने सम्भावना छ। महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शनिबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


