काठमाडौँ- हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा सुक्खा पहिरो गई जोखिममा रहेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
तिलगाउँको उत्तरपट्टिबाट सुक्खा पहिरो आई सोही ठाउँमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूको घरमा क्षति पुर्याएपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको हो।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उद्धार सामाग्री तथा बन्दोवस्तीका सामान पनि पठाइएको छ। बोर्डर आउटपोष्ट हिल्साको सशस्त्र प्रहरी टोली उक्त स्थानमा परिचालन गरिएको छ।
यता प्रतिनिधि सभा सदस्य छिरिङ डम्डुल लामाले आजको बैठकमा तिलगाउँका बासिन्दाको तत्काल उद्धारको माग गरेका थिए।
जेठ १ गते मध्यराति नजिकैको खोलामा बाढी आएर गहिरो बनाएकाले नजिकैको बस्ती पहिरोको जोखिममा परेको थियो। माथिल्लो क्षेत्रमा रहेका हिमताल फुटेर बाढी आएको स्थानीयले उल्लेख गरेका छन्।


