काठमाडौँ- प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। गभर्नर नियुक्तिका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर नियुक्तको प्रक्रिया अघि नबढाएपछि देउवा बालुवाटार पुगका हुन्।
ओलीले गभर्नर नियुक्ति प्रक्रिया अघि नबढाएपछि कांग्रेसका नेताहरू असन्तुष्ट छन्। गभर्नर नियुक्तिका विषयमा ओलीले सोमवार बेलुका नै देउवालाई बोलाएका भएपनि उनी गएका थिएनन्।
देउवाले कांग्रेसको भागमा गभर्नर परिसकेको बताएपनि ओली कांग्रेसबाट आएका व्यक्तिलाई गभर्नर बनाउन सहमत छैनन्। ओलीले योग्य व्यक्तिलाई मेरिटको आधारमा ल्याउने भन्दै हाल कार्यवाहक गभर्नर बनेकी डेपुटी गभर्नर निलम ढुंगानालाई गभर्नर बनाउन चाहन्छन्। यो विषय ओलीले सार्वजनिक रूपमा नै आफू मात्र सत्ता चलाउने नभएर कांग्रेससँग साझेदारी गर्नुपरेको र यस्तो बेला आफूले भनेर मात्र पनि गर्न नसकिएको गुनासो सार्वजनिक कार्यक्रममा नै गरेका थिए।
देउवाले भनेबमोजिम गभर्नर नियुक्त गर्न नचाहेपछि कांग्रेसका नेताहरू असन्तुष्ट छन्। गभर्नरकै कारण सत्ता गठबन्धनमा खटपट छ।
प्रधानमन्त्रीको सचिवालयको दाबीअनुसार प्रधानमन्त्री ओली र देउवाको भेटवार्ता नियमित हो। सोमबार साँझ भेट गर्ने तय भएपनि प्रधानमन्त्री ओली अस्वस्थ भएकाले मंगलवारका लागि बैठक सारिएको ओली सचिवालयको जिकिर छ। तर देउवाले भने गभर्नर नियुक्तिका विषयमा अब थप छलफल नहुने भन्दै सोमवार बेलुका बालुवाटार गएका थिएनन्।
चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ। गभर्नरमा आफ्नै मान्छेलाई बाउने ओली र देउवाको अडानले प्रक्रिया लम्बिएको छ। मंगलवारको छलफलमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी छन्।
ओलीले आफू अस्वस्थ भएको भन्दै प्रतिनिधिसभा बैठक प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम पनि नगर्ने भनी संसदमा सूचना पठाएपछि कार्यसूचीबाट हटाइएको छ।
अर्थमन्त्री पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिको बैठक अझसम्म पनि बस्न सकेको छैन। सिफारिस समितिको बैठक नबसेको र आफूले भनेअनुसार काम अघि नबढाएको भन्दै देउवाले सोमवार ओलीसँग भेटका बालुवाटार जान इन्कार गरेका थिए।


