काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेंगुको संक्रमणबाट जोगिन आग्रह गरेको छ। पानी परेसँगै लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले मन्त्रालयले डेंगु संक्रमणबाट जोगिन आग्रह गरेको हो।
मन्त्रालयले सूचना जारी गर्दै डेंगुको संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरेको छ। यस्तै, सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलम प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिनसमेत आग्रह गरेको छ ।
‘पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ। ती फुल लार्भा भएर निस्कन्छ र वयस्क लार्भा लामखुट्टे बन्छ’, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले भने। उनले अहिले पानी परिरहेकाले सचेत रहन सबैलाई आग्रह गरे। ‘दैनिक पानी परिरहेको छ। पानी जम्मा भई लामखुट्टेले फुल पार्दछ’, उनले भने, ‘सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ। डेंगु सङ्क्रमणबाट बच्न सरसफाइ गर्न आवश्यक छ।’
रोग नियन्त्रण शाखाका प्रमुख डा. दाहालका अनुसार सन् २०२२ सम्म ५४ हजार ६३० जनामा डेंगु देखिएकामा ८८ जनाको मृत्यु भएको थियो। गत १५ पुसदेखि हालसम्म ७०१ जनामा डेंगु संक्रमण देखिएको छ।मन्त्रालयले हरेक शुक्रबार डेंगीविरुद्धका अभियान सञ्चालन गर्न पनि आग्रह गरेको छ। मन्त्रालयले हरेक शुक्रबार बिहान साढे १० बजे सबै कर्मचारी सहभागी भई सरकारी तथा सार्वजनिक कार्यालय हाताभित्र र वरिपरि सरसफाइ अभियान सञ्चालन गर्न आग्रह गरेको हो।
सामान्य प्रकारको डेंगुमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन्। नेपालमा पहिलो पटक सन् २००४ मा १ जनामा डेंगु देखिएको थियो। सन् २००५ मा भने डेंगुका बिरामी देखिएनन्। त्यसपछि सन् २००६ देखि डेंगुको संक्रमण देखिँदै आएको छ।
मन्त्रालयका अनुसार सन् २००६ मा ३२, सन् २०१० मा ९१७, सन् २०१३ मा ६८६, सन् २०१६ मा १ हजार ५२७, सन् २०१७ मा २ हजार १११, सन् २०१८ मा ८११ र सन् २०१९ मा १७ हजार ९९२ जनामा डेंगु संक्रमण देखिएको थियो। सन् २०२० मा ५३० र सन् २०२१ मा ५४० जना डेंगुका बिरामी देखिएका थिए।


