काठमाडौँ- नेपालमा पूर्ण साक्षर जिल्लाको संख्या ६७ पुगेको छ। पछिल्लो पटक कर्णालीको हुम्ला पूर्ण साक्षर जिल्ला घोषणा भएको हो।
योसँगै हुम्ला देशभरबाट ६७औँ र कर्णाली प्रदेशको ८औँ पूर्ण साक्षर जिल्ला बनेको हो।
शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका कार्यालय प्रमुख योगेश आलेमगरका अनुसार १५ देखि ६० उमेरका नागरिकहरूको साक्षरता ९७.०४ प्रतिशत पुगेकाले पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो। ९५ प्रतिशतभन्दा बढी साक्षरता दर पुगेपछि पूर्ण साक्षर घोषणा गर्न सकिन्छ।
प्रमुख आले मगरले सात वटै गाउँपालिका साक्षर गाउँपालिका घोषणा भएसँगै हुम्ला जिल्ला पनि साक्षर जिल्ला घोषणा भएको जानकारी दिए।
जिल्लामा १५ वर्षभन्दा बढी उमेर भएका व्यक्तिको संख्या ३५ हजार ३५४ रहेको र यसमध्ये ३३ हजार ९५४ जनसङ्ख्या साक्षर भएकाले पूर्ण साक्षर घोषणा गरिएको हो। जिल्लामा यो उमेर समूहका १ हजार ४४० जना निरक्षर रहेका छन्।
कर्णाली प्रदेशका कालीकोट र डोल्पा जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी छन्।


