काठमाडौँ- रास्वपा सभापति रवि लामिछानेले छुट्ने आशा बोकेर रुपन्देही कारागार र सर्वोच्च अदालत पुगेका समर्थकहरू निराश भएर फर्किएका छन्।
सर्वोच्च अदालतमा रविकी पत्नी निकिता पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा तुलसीपुर उच्च अदालतको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश सदर गर्दै रिहा गर्न अस्वीकार गरेपछि लामिछानेका समर्थक निराश बनेका हुन्।
शुक्रवार न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले यस्तो आदेश जारी गरेको हो। न्यायाधीशद्वयको इजलासले न्यायिक आदेश र फैसलाका विषयमा न्यायाधीशहरूको मानमर्दन नगर्न रवि लामिछानेका समर्थकहरूलाई चेतावनी पनि दिएको छ।
‘न्यायाधीशहरूउपर सामाजिक सञ्जाल एवम् अन्य सञ्चार माध्यममा लाञ्छनापूर्ण र अशोभनीय टीकाटिप्पणी गरेको…तर्फ यस इजलासको गम्भीर ध्यानाकर्षण भएको छ,’ आदेशमा लेखिएको छ, ‘अदालतबाट भएका आदेश एवम् फैसलाहरूउपर स्वच्छ र रचनात्मक टिप्पणीहरू सदैव अपेक्षित नै हुने भए तापनि नियोजित ढंगले न्यायाधीशहरूको मानमर्दन गर्ने र जनमानसमा भ्रमपूर्ण सन्देश प्रवाह गर्ने प्रकृतिका क्रियाकलापबाट न्यायसम्पादनको कार्यमा अनपेक्षित अवरोध हुन जाने भएकाले त्यसतर्फ संवेदनशील रहन सबै पक्षका लागि यो आदेश जारी गरिएको छ।’
आदेशको पूर्णपाठ


