काठमाडौँ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले २४औँ राष्ट्रिय महाधिवेशनका लागि देशभरिका कलेजबाट एकसाथ प्रतिनिधि छनोट गर्दै छ।
आगामी जेठ २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया आज प्रारम्भ भएको हो। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भएका प्रत्येक कलेजबाट एक जना प्रतिनिधि चयन गरिनेछ।
संगठनले जेठ १२ गतेसम्म प्रतिनिधिहरूको अन्तिम टुंगो लगाउने बताएको छ। प्रतिनिधि चयनका लागि प्रत्येक स्थानीय तहबाट एक जना, सबै प्रारम्भिक कमिटीबाट एक जना, र जिल्ला कमिटीबाट एक महिला सहित तीन जना प्रतिनिधि चयन गरिनेछ।
‘शिक्षालाई सीप, श्रम, उत्पादन र रोजगारीसँग जोडौँ, सामाजिक अराजकता र बढ्दो युवा पलायन रोक्न विद्यार्थी शक्ति समृद्धिमा अगाडि बढौँ’ भन्ने मूल नाराका साथ अनेरास्ववियुको महाधिवेशन सम्पन्न हुँदैछ।
संगठनका प्रवक्ता प्रकाश पौडेलका अनुसार यो महाधिवेशन अनेरास्ववियुको विचार, संगठन र संघर्षलाई नयाँ दिशातर्फ डो-याउने ऐतिहासिक अवसर हुनेछ।
प्रतिनिधि छनोट प्रक्रिया पूर्णतः लोकतान्त्रिक, पारदर्शी र संगठनात्मक विधिअनुसार सञ्चालन हुने जानकारी दिँदै पौडेलले सम्पूर्ण कार्यकर्ता, विद्यार्थी तथा शुभेच्छुकहरूलाई प्रतिनिधि छनोटलाई सफल बनाउन आह्वान गरेका छन्।


