काठमाडौँ- संघीय राजधानीको प्रदेशविन्दु नागढुंगा–नौबिसे सडक हरेक दिन दिउँसो साढे चार घण्टा बन्द हुने भएको छ।
नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले शनिवारदेखि यही जेठ २५ गतेसम्म बिहान १०:३० बजेदेखि अपाह्न ३:०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको राससलाई जानकारी दिए।
आयोजनाले नागढुंगा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ। नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले काठमाडौंबाट जाने सवारीसाधन नागढुंगा र नौबिसेतर्फबाट काठमाडौं आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ।
प्रहरीले विकल्पमा धार्के–सीतापाइला तथा टोखा–छहरे त्रिशूलीगल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ।


