पोखराः गण्डकी प्रदेशका सांसद विकल शेरचनले आफ्ना माग पुरा नभए राजीनामा दिने चेतावनी दिँदै राजीनामाको नमुना प्रकाशन गरेका छन्। उनले शनिबार राती राजीनामाको नमुना सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेर आफ्ना माग पूरा नभए राजीनामा दिने बताएका हुन् ।
सांसद शेरचन हिजो संसदीय दलको बैठकबाट बिचैमा निस्किएका थिए।
बैठकमा कुरा राखिरहँदा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग असन्तुष्ट बनेका उनी बैठकबाट बाहिरिएका बैठकमा सहभागी एक सांसदले बताए।
‘श्रीमान्, गहिरो आत्म मन्थनपश्चात् म, गण्डकी प्रदेशसभाका सदस्य मा. विकल शेरचन पदबाट तत्काल लागू हुने गरी राजीनामा पेस गर्न चाहन्छु,’ उनले पोस्ट गरेको पत्रमा भनिएको छ । यसअघि आएका बजेट र अहिले निर्माण हुँदै गरेको बजेटमा समेत दुर्गमका मागलाई सम्बोधन हुन नसकेको उनको भनाई छ।
‘मुस्ताङ जस्तो संवेदनशील, भौगोलिक रूपमा जटिल र सम्भावनायुक्त जिल्लालाई प्रदेशको प्राथमिकतामा राखिनु पर्ने हो, तर हाम्रो बजेटीय कार्यशैलीले बारम्बार यस जिल्लालाई पछाडि पार्ने प्रवृत्ति देखाएको छ,’ उनले भने, ‘पूर्वाधार, आर्थिक सशक्तीकरण, उच्च हिमाली स्वास्थ्य जोखिम, जलवायु अनुकूलन, र युवाका अवसरहरू जस्ता विषयमा ठोस योजना ल्याउने मेरो आग्रहहरूलाई बेवास्ता गरिएको अनुभव हुँदै आएको छ।’
उनले नमुना राजीनामालाई आन्तरिक विरोध भनेका छन्। ‘मेरो राजीनामा कुनै भागदौड होइन, बरु यो एक आन्तरिक विरोध हो। एक जिम्मेवार अपिल हो, जसले हाम्रो राजनीतिक तथा नीति निर्माण प्रणालीमा आत्म समीक्षा गर्न प्रेरणा देओस् भन्ने मेरो आशा छ,’ उनले अघि लेखेका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट मुस्ताङ ख बाट निर्वाचित भएका हुन्।
