काठमाडौं : भिजिट भिसाका नाममा मानव तस्करी हुने घटनामा गृह प्रशासनको संलग्नताका विषयमा प्रतिनिधी सभा बैठकमा विपक्षी दलले विरोध जनाएका छन्। त्रिभुवन विमानस्थल हुँदै ‘भिजिट भिसा’का नाममा मानव तस्करी हुने घटनामा गृह प्रशासन मुछिएपछि प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा अवरोध जनाएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठक सुरू हुने वित्तिकै प्रतिपक्षी दलका सांसदहरूले गृहमन्त्री लेखकमाथि चौतर्फी प्रश्न उठिसकेकाले नैतिकताका आधारमा तुरून्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग गरे।
नेकपा माओवादी सांसद वर्षमान पुनले गम्भीर प्रश्न उठिसकेको भन्दै गृहमन्त्री लेखकले मार्ग प्रशस्त गरी छानबिन गर्ने वातावरण बनाइदिन आग्रह गरे। उनले राजीनामा नआएसम्म संसद अगाडि बढाउन सहयोग नगर्ने बताए। यसैगरी रास्वपा सांसद शिशिर खनालले उक्त घटनाको अनुसन्धान गर्न उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे।
अध्यागमनका कर्मचारीको सेटिङमा मानिसलाई भिजिट भिसामा पठाउन सहजीकरण गरी रकम असुली गर्ने खुलेको र त्यसमा गृहमन्त्रीको पनि संलग्नता हुनसक्ने उनीहरूको दावी छ।
भिजिट भिसा प्रकरणमा गृह प्रशासन मुछिएपछि सोमबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा पदाधिकारी बैठक बसेको थियो। उक्त बैठकले भिजिट भिसामा अवैध रकम असुली प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेको थियो।


