पोखरा — एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे पुन: निर्वाचित भएका छन्। अध्यक्ष केपी ओलीले निर्विरोध गराउन चाहेका थेबेले अर्का प्रतिस्पर्धी सुमन पुरीलाई १ सय ८८ मतान्तरले पराजित गर्दै उनी दोस्रोपल्ट अध्यक्षमा निर्वाचित भएका हुन्।
थेबेले ७ सय ९६ मत पाउँदा पुरीले ६ सय ८ मत प्राप्त गरे। कुल १ हजार ७ सय ६४ मतदातामध्ये १ हजार ४ सय ४ मत खसेको थियो।
पुरी यसअघि महासचिव थिए। सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि थेबे र पुरी प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए। मंगलबार बिहानदेखि विद्युतीय मतदान भएको थियो।
चुनावी परिणाम बाहिर आएपछि कतिपय एमाले कार्यकताहरुले राजनीतिक रुपमा सुमनको पनि जित भएको प्रतिक्रिया दिइरहेका छन्। दलभित्र अध्यक्ष ओलीको एकछत्र मनोमानी भएको भनिएका बेला भातृ संगठन संघ चुनावी विन्दुसम्म पुग्नु नै पुरीको जित भएको निष्कर्ष उनीहरुको छ।
अध्यक्षमा मात्र होइन प्यानलमा पनि थेबे समूह विजयी भएको छ। महासचिवमा थेबे प्यानलका महेश चौलागाईंले ७ सय ५५ मत ल्याउँदा पुरी प्यानलका कुबेर अधिकारीले ६ सय ४९ मत प्राप्त गरे। थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी र देवबहादुर बस्नेत, महिला सचिवमा निशा लिम्बु सुब्बा, मधेसी सचिवमा मोबिन अख्तर आलम विजयी भएका छन्।
अनुशासन आयोग अध्यक्षमा महमद निजामुदिन (निजाम), निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी, युवा विज्ञ परिषद्मा चीन लामा निर्वाचित भएका छन्। पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारी, महासचिवमा कुबेर अधिकारी, उपमहासचिवमा खेमराज शर्मा, सचिव खुलामा अरुण कुँवर र ध्रुव खड्का, महिला सचिवमा रेशु तामाङ, मधेसी सचिवमा चितरञ्जन यादव उम्मेदवार थिए।
अनुशासन आयोग अध्यक्षमा अजयजंग शाही, निर्वाचन आयोग अध्यक्षमा शिव रिमाल, लेखा आयोग अध्यक्षमा विक्रम गुरुङ, युवा विज्ञ आयोग अध्यक्षमा मोदनाथ सिलवाल (सन्तोष)ले पुरी प्यानलबाट उम्मेदवारी दिएका थिए।


