काठमाडौँ- नेपालमा बैँक तथा वित्तीय संस्थाका शाखाको संख्या ११ हजार ६ सयभन्दा बढी पुगेको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको चालु आवको आर्थिक सर्वेक्षणमा देशभर ११ हजार ६२९ शाखा पुगेको उल्लेख गरेको हो।
देशमा साइपालबाहेक सबै पालिकामा बैंक तथा वित्तीय संस्थाका शाखा पुगेको सर्वेक्षणले उल्लेख गरेको छ।
‘बझाङ्गको साईपालबाहेक सबै स्थानीय तहमा वाणिज्य बैङ्कका शाखा पुगेका छन्,’ सर्वेक्षण भनिएको छ, ‘बैङ्क तथा वित्तीय संस्थाको शाखाका आधारमा प्रति शाखा औसत जनसङ्ख्या २ हजार ५१० पुगेको छ।’
मर्जर तथा प्राप्तिमार्फत बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गएपनि शाखा विस्तार र वित्तीय पहुँच बढ्दै गएको सर्वेक्षणले देखाएको छ। ०७९ फागुनमसान्तमा बैङ्क तथा वित्तीय संस्था (लघुवित्त समेत) को सङ्ख्या १२० रहेको छ।
सर्वेक्षणका अनुसार देशभर ३१ हजार ३ सय ७३ सहकारी संस्था रहेका छन्।
बैङ्क तथा वित्तीय संस्थाको निष्क्रिय कर्जामा वृद्धि भएकोसमेत सर्वेक्षणले उल्लेख गरेको छ।


