काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता डा. शेखर कोइरालाबीच ११ महिनापछि कुराकानी भएको छ।
बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा नेता कोइरालालाई भेट्नका लागि महामन्त्री थापा शुक्रबार पुगेका थिए।
कोइराला निकट स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले शुक्रबारका लागि अनुशासन समितिको बैठक बोलाएकाले उक्त विषयमा कुराकानीका लागि कोइरालाले थापालाई बोलाएका हुन्।
१३औँ महाधिवेशनमा कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका थापा विजयी हुँदा कोइराला भने दोस्रो चरणको मतदान प्रक्रियासम्म पुगेर पराजित भएका थिए।
तर पछिल्लो ११ महिनासम्म उनीहरूबीच कुराकानी नहुँदा सम्बन्धमा तिक्तता आएको अनुमान गरिँदै आएको थियो। भेटमा केन्द्रीय सदस्य सञ्जयकुमार गौतम र राजीव कोइरालासमेत सहभागी थिए।
कांग्रेस र एमाले गठबन्धन सरकारको मन्त्री बनाउने नेता पठाउने विषयमा उनीहरूबीच छलफल भएको थियो।


