काठमाडौं- चालु आर्थिक वर्ष कुल उपभोग कुल गार्हस्थ्य उत्पादनको ९३.६ प्रतिशत पुग्ने अनुमान आर्थिक सर्वेक्षणले गरेको छ। गत आर्थिक वर्ष ९४.२ प्रतिशत रहको उपभोग चालु आर्थिक वर्ष सामान्य रुपमा घट्ने अनुमान गरिएको हो। पछिल्लो दशकमा कुल गार्हस्थ्य उत्पादनको तुलनामा उपभोगको अंश ९१.२ प्रतिशत रहने अनुमान छ।
चालु आर्थिक वर्ष सरकारी उपभोग पनि उल्लेख्य रुपमा घटेको छ। गत आर्थिक वर्ष कुल उपभोगमा सरकारी उपभोगको हिस्सा ८.५ प्रतिशत रहेकोमा यस आर्थिक वर्ष ५.४ प्रतिशत पुग्ने अनुमान छ।
यसैगरी गत आर्थिक वर्ष निजी क्षेत्रको उपभोग ८६.३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष २.४ प्रतिशतले घटेर ८३.९ प्रतिशत रहेको थियो। गैरनाफामुलक संस्थाको उपभोग गत आर्थिक वर्ष १.८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष १.६ प्रतिशत कायम हुने अनुमान गरिएको छ।
कुल उपभोगमा सबैभन्दा धेरै खाद्यान्नको हिस्सा रहेको छ। कुल निजी उपभोगममा खाद्यान्न वस्तुको हिस्सा ४८.३ प्रतिशत, गैरखाद्यान्न वस्तुको हिस्सा १८.७ प्रतिशत र सेवा क्षेत्रको हिस्वा ३३ प्रतिशत रहने अनुमान छ।
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कुल गार्हस्थ्य बचतको अंश ६.४ प्रतिशत पुग्ने अनुमान गरिएको छ। गत आर्थिक वर्ष यस्तो बचत ५.८ प्रतिश तरहेको थियो।


