काठमाडौँ– राजधानीको नारायणचौरमा आइतबार आयोजित राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा रिहा भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार, सो प्रदर्शनमा सहभागी रहेका राप्रपाका सांसद दीपक सिंहसहित पक्राउ परेका सात जना व्यक्तिलाई जमानीमा रिहा गरिएको हो।
तर, प्रदर्शनकै क्रममा पक्राउ परेका डा. राजिव झा भने रिहा भएका छैनन्। मापसे गरेको अवस्थामा भेटिएका रौतहटका ४५ वर्षीय झामाथि प्रहरीले मुद्दा चलाउने तयारी गरिरहेको जनाएको छ।
पक्राउ परेका आठ जना मध्ये सात जना मात्रै रिहा गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रदर्शनका क्रममा प्रहरीले राप्रपा अध्यक्ष थापासहित ललितपुरकी ६२ वर्षीया शिला राणा, भक्तपुरका रामचन्द्र लामिछाने, टोखा निवासी बिनोद कपाली र सरोज तिमिल्सिनालाई पनि नियन्त्रणमा लिएको थियो।
राजावादी समूहले बिहीबारदेखि वर्तमान शासन व्यवस्थाविरुद्ध विरोध प्रदर्शन गर्दै आएको छ।
प्रशासनले प्रदर्शनलाई लक्षित गर्दै नारायणहिटी दरबार क्षेत्र आसपास र सिफल, कोटेश्वर, बल्खु क्षेत्रबाहेकका स्थानहरूमा विरोध कार्यक्रम सञ्चालनमा निषेधाज्ञा जारी गरिसकेको छ।


