काठमाडौँ- नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन्।
बिहिबार बिहान बसेको सञ्चालक समितिको ६८२औँ बैठकले ज्ञवालीलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।
यसअघि कायममुकायम सीईओ रहेका ज्ञवाली बैकिङ क्षेत्रमा स्पष्ट वक्ताका रुपमा चिनिन्छन्। नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रही बैंकिङ क्षेत्रको अनुभव बटुलेका ज्ञवाली सीएसमेत हुन्।
ज्ञवालीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २६ वर्ष लामोे अनुभव छ।
ज्ञवालीको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने विश्वास बैंक व्यवस्थापनले गरेको छ।
सोही समितीले नायब महाप्रबन्धक आदर्श बजगाँइलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ भने प्रमुख कानुन विभाग भिष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिएको छ।
देशभरका २६८ शाखा र ३२० एटिएम मेसिनबाट बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै दाबी गरेको छ।


