काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ८ जना प्रहरीसहित एक दूधे बालकको हत्या भएको टीकापुर घटनाका दोषी रेशम चौधरीको सजाय मिनाहा गरिदिएका छन्। गणतन्त्र दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले चौधरीसहित ५०१ कैदीहरुको सजाय मिनाहा गरिदिएका हुन्।
उनलाई बिहान साढे ८ बजे कारागारबाट रिहा गरिने डिल्लीबजार कारागारले तयारी गरेको छ। रेशम रिहाईको स्वागत गर्न कारागारबाहिर उपस्थित हुन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा रेशमकी पत्नीसमेत रहेकी रञ्जिता श्रेष्ठले आग्रह गरेकी छन्।
तीनै तहका अदातले घटनाका मुख्य दोषी ठहर गर्दै चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो। चौधरीले आफ्नो कैद सजाय माफीमिनाहका लागि निवेदन दिएका थिए। उक्त निवेदनलाई सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यसलाई राष्ट्रपति पौडेलले कानुनबमोजिम गर्न भन्दै गृह मन्त्रालयमा फिर्ता गरेका थिए। त्यसपछि पनि सरकारले पुनः सिफारिस गरेपछि उनको पनि कैद सजाय मिनाहा गरिएको छ।
यद्यपि सरकारको उक्त निर्णयविरुद्ध टीकापुर घटनामा मृत्यु भएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहराले सर्वोच्चमा रिट दायर गरेकी छन्। उनले राष्ट्रपति कार्यालयमा पनि चौधरीलाई माफी मिनाहा नगर्न भन्दै निवेदन दिएकी थिइन्।
माफी पाउनेमध्ये सात जना ज्येष्ठ नागरिक छन्। सरकारले गणतन्त्र दिवसका दिन कैदीहरूको सजाय मिनाहा गर्दै आएको छ।
यस्तै गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो। जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ।
राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ। यस दिनलाई निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ।
विंस २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभएको थियो। गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो।


