काठमाडौँ- प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि अवरुद्ध भएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए।
भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरुले उठेर विरोध जनाएका हुन्। प्रतिपक्षीले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्ने वातावरण बनाउन आग्रह गरेका थिए।
भिजिट भिसा प्रकरणमा देखिएको विवाद समाधानका लागि भइरहेको छलफल टुंगोमा नपुगे पनि सहमतिको प्रयत्न भइरहेको जानकारी आएको भन्दै उनले आधा घण्टाका लागि बैठक स्थगित गरे।
यसअघि सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा सेटिङ प्रकरणमा छानबिन समिति बनाउन पनि अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको छलफल निष्कर्षविहीन भएको थियो।
कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका तर्फबाट उपसभापति डा. स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र प्रमुख सचेतक सन्तोष परियार सहभागी बैठकले निष्कर्ष निकाल्न नसकेपछि सदनको अवरोध पनि खुला हुन सकेन।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै संसदमा प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गर्दै आएपछि कांग्रेसले प्रतिपक्षी दलहरूसँग छलफल गर्दै आएको छ। रास्वपा-कांग्रेसको यो दोस्रो छलफल हो।
यसअघि कांग्रेसले माओवादीसँग पनि छलफल गरेको थियो। भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनमा सहयोग गर्ने र अख्तियारको छानबिन सकिएपछि भिजिट भिसाका सम्बन्धमा अध्यागमन देखिएका समस्याहरूको समाधान गर्न र सुधार गर्नका लागि सुझाव दिन समिति बनाउने प्रस्ताव प्रतिपक्षी दलहरूसँग राखेपनि प्रतिपक्षी दलहरू त्यसलाई मानेर जान तयार भएका छैनन्।
भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ गतदेखि निरन्तर संसदको कामकारवाही प्रभावित हुदै आएको छ।


