काठमाडौँ- संवैधानिक आयोगमा ५२ जना पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा संवैधानिक इजलासले निर्णय सुनाउने मिति सारेको छ।
बुधवार बसेको संवैधानिक इजलासले असार १८ गतेका लागि निर्णय सुनाउने मिति तोकेको हो।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा रहेको उक्त मुद्दामा आज फैसला आउने भनिए पनि निर्णय सुनाउने मिति सारिएको हो।
जेठ १ गते सुनुवाइ सकिएपछि जेठ २८ का लागि निर्णय सुनाउने मिति तोकिएको थियो। संवैधानिक इजलासमा ६ घण्टा छलफल भएपनि इजलासले फैसला दिन नकसेपछि अन्तिम समयमा निर्णय सुनाउने मिति सारिएको हो।
लामो छलफल भएको तर अन्तिम समयमा निर्णय सुनाउने मिति सारिएकाले न्यायाधीशहरूबीच नै रायबाझी भएको हुन सक्ने अनुमान गरिएको छ।


