काठमाडौँ- कवाड व्यवसायी समाज नेपालले काठमाडौँ महानगरका मेयर बालेन्द्र साहको ज्यादती रोक्न उपप्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलसमक्ष माग गरेका छन्। हीवार अर्थ मन्त्रालयमा मन्त्री पौडेललाई ज्ञापन पत्र बुझाउँदै उनीहरूले यस्तो माग गरेका हुन्।
काठमाडौँ महानगरपालिका र मेयर बालेन्द्र साहले आफूहरूमाथि गुन्डागर्दी शैलीमा ज्यादती गरेको आरोप कवाड व्यवसायीको छ। ‘व्यवसायी र संकलकमाथि भइरहेको महानगरको गुन्डागर्दी ज्यादतीलाई तत्काल रोक्न लगाई व्यवसायीको जिउधनको रक्षाको लागि हामी कवाड व्यवसायी माननीय अर्थमन्त्री ज्यु समक्ष अनुरोध गर्दर्छौँ,’ मन्त्री पौडेललाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ।
काठमाडौं महानगरपालिकाले विगत २ वर्षदेखि नगरप्रहरी परिचालन गरी गुण्डागर्दी शैलीमा कवाड व्यवसायी र संकलक मजदुरहरुमाथि कुटपिट गर्दै आएको समेत उनीहरूको आरोप छ। ‘महानगरले कवाड मजदूरलाई अपहरण गर्ने र कवाड व्यवसायका संरचनाहरु भत्काउने, संकलक र मजदुरका साइकल र समान जफत गर्ने काम गरिरहेको छ,’ व्यवसायीले मन्त्री पौडेललाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘महानगर प्रहरीको कुटपिटका कारण कवाड व्यवसायी र संकलहरुको टाउको फुटेको र अङ्गभङ्ग भएका छन्। काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले काठमाडौं महानगरबाट गरिब जनता र गरीखाने वर्गलाई हटाउन खोजेका छन्।’
काठमाडौं महानगरपालिकाको विभिन्न वडाहरुमा कवाड व्यवसाय संचालन गरी कवाड व्यवसायीले राजस्व तिर्दै आएको तर बालेन नेतृत्वमा आएदेखि आफूहरूमाथि ज्यादती गरिएको उनीहरूको आरोप छ।
कवाड व्यवसायमा एक लाख मानिसका लागि प्रत्यक्ष रोजगारी सिर्जना गरेको र वातावरणीय सरसफाइमा योगदान गरेपनि आफूहरूमाथि ज्यादती भएकाले गम्भीर बनिदिन उनीहरूले मन्त्रीको ध्यानाकर्षण गराएका थिए।
कवाड व्यवसायीको ज्ञापनपत्र बुझेपछि मन्त्री पौडेले व्यवसायीहरूका मुद्दामा सरकारले गम्भीरतापूर्वक लिएको बताएका थिए।


