अहमदावाद- भारतको गुजरात राज्य अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या २४० पुगेको छ। लन्डनका लागि उडेको एयर इन्डियाको जहाज बिहीबार दिउँसो दुर्घटनामा पर्दा उनीहरूको मृत्यु भएको दैनिक भाष्करले उल्लेख गरेको छ।
स्थानीय समय अनुसार दिउँसो १:३८ बजे उडान भरेको बोइङ ७८७-८ ‘ड्रिमलाइनर’ ले उडान भरेको करिब ६ मिनेटमा दुर्घटनामा परेको थियो। स्थानीय मेघानीनगर क्षेत्रमा एक मेडिकल कलेजको होस्टेल भवनमा ठोक्किएको थियो। जहाज ठोक्किएको भवनमा५०–६० जना इन्टर्न डाक्टर बस्दै आएका थिए।
विमानमा चालक दलका सदस्य १२ सहित २४२ जना सवार थिए। होस्टलमा बस्ने कति जनालाई के-कस्तो क्षति पुगेको भन्ने विषय खुल्न सकेको छैन।
न्यूज एजेन्सी एएनआईले पुलिस कमिसनरलाई उद्धृत गर्दै विमानको सिट नम्बर ११ ‘ए’मा रहेका बेलायती नागरिक रमेश विश्वास कुमारलाई जीवित अवस्थामा उद्धार गरिएको उल्लेख गरेको छ। दुर्घटनापछि विमानमा आगो फैलिएको थियो र उनी पछाडिको भागमा अड्किएका कारण जलेपनि बाँच्न सफल भएका थिए। उनीसँगै अन्य एक यात्रीलाई पनि जीवित अवस्थामा उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ। तर उनको नाम खुलेको छैन।
भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा पूर्व गुजरात मुख्यमन्त्री विजय रूपाणी समेत विमानमा सवार थिए। उनी आफ्नी छोरीलाई भेट्न लन्डन जाँदै थिए। उनको पनि मृत्यु भएको भाष्करको समाचारमा उल्लेख छ।
विमानमा २४२ जना सवार थिए, जसमा २३० यात्रु र १२ चालक दल सदस्य रहेका थिए। सवार यात्रुहरूमध्ये १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगल र १ जना क्यानाडाका नागरिक थिए।
दुर्घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह तत्काल घटनास्थल पुगेका छन्। प्रधानमन्त्री मोदीले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै दुर्घटनाको गम्भीर अनुसन्धान गरिने प्रतिबद्धता जनाएका छन्।
बेलायतका प्रधानमन्त्री कीर स्टार्मर, राजा चार्ल्स तृतीय लगायत अन्तर्राष्ट्रिय नेताहरूले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
तस्बिरहरू हेर्नुहोस्


