अहमदावाद- भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै बिहीबार भएको हवाईजहाज दुर्घटनामा परी मृत्यु हुनेको संख्या २६० पुगेको छ। जहाजमा सवार २४२ जनामध्ये २४१ जना र जहाज ठोक्किएको बीजे मेडिकल कलेजको होस्टलमा रहेका १९ जनाको मृत्यु भएको भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।
अहमदाबाद प्रहरी कमिसनर विधि चौधरीले मृतकको संख्या २६० पुगेको जानकारी दिएका छन्। उनका अनुसार २४१ जना जहाजमा सवार व्यक्ति हुन् भने बाँकी होस्टलमा रहेका व्यक्तिहरू हुन्।
विमानमा २३० यात्रु र १२ चालक दल गरी कुल २४२ जना थिए।विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र १ क्यानाडेली नागरिक थिए।
सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेको ३३ सेकेन्डपछि नै डाक्टर बस्ने होस्टल भवनमा जहाज खसेको थियो। एयर इन्डियाको बोइङ ७८७-८ ड्रिमलाइनर दुर्घटना भारतीय आकाशमा पछिल्लो तीन दशकयताकै सबैभन्दा ठूलो हवाई दुर्घटना भएको उल्लेख गरिएको छ।
जहाजमा सवार एक जनाको जीवितै उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ। जहाजमा ११ए सिटमा रहेका भारतीय मूलका बेलायती नागरिक विश्वाशकुमार रमेश मात्र बच्न सफल भए। उनी बोल्न सक्ने अवस्थामा छन्। ‘विमान उडेपछि ३० सेकेन्डमै ठोक्कियो। कुनै चेतावनी आएको थिएन। म बाँचिरहेको पत्याउन सकिनँ। वरिपरि शव देखेँ। मेरो खुट्टा चोट लागेको भएपनि दौडेर बाहिर निस्किएँ,’ उनले भनेका छन्।
फ्लाइट राडार २४ का अनुसार अनुसार विमानले दिउँसो १:३८ बजे विमानस्थलबाट उडान सुरु गरेको थियो। विमानले ६२५ फिटको उचाइमा १७४ नटिकल माइलको गतिमा रहेको अवस्थाबाट बिस्तारै जहाज ओरालो लाग्दै मेडिकल कलेजको होस्टल भवनमा ठोक्किएको थियो। १ लाख २५ हजार लिटर इन्धन लिएर उडेका विमानले ठोक्किएलगत्तै ठूलो आगोको मुस्लोमा परिणत भएको थियो।
बीजे मेडिकल कलेजका डीन मीनाक्षी परिखका अनुसार चार जना एमबीबीएस विद्यार्थीको मृत्यु भएको र १९ जना घाइते भएको पुष्टि भएको छ। उनका अनुसार पाँच घाइतेको अवस्था गम्भीर छ। दुई तेस्रो वर्षका विद्यार्थी अझै बेपत्ता छन्। साथै, एक जना डाक्टरकी श्रीमतीको पनि ज्यान गएको पुष्टि गरिएको छ।
विमानको कप्तान सुमित सभरवालको ८ हजार २०० घण्टा उडान अनुभव थियो। कोपाइलट क्लाइभ कुन्दरले १ हजार १०० घण्टा उडान अनुभव लिएका थिए। दुवै जना मुम्बईका बासिन्दा हुन्।
घटनास्थलमा राष्ट्रिय विपद् प्रतिक्रिया बल, नागरिक उड्डयन विभाग, एअर इन्डिया, स्थानीय प्रशासन र अन्य निकायहरूले संयुक्त रूपमा उद्धार र राहत कार्य सञ्चालन गरिरहेका छन्। घटनाको विस्तृत विवरण आइसकेको छैन।
भारतीय उडान इतिहासमा सन् १९९६ मा दिल्ली आकाशमा भएको दुर्घटना सबैभन्दा ठूलो मानिन्छ। त्यसबेला साउदिया एयरलाइन्स र कजाकिस्तान एयरलाइन्सबीच ठक्कर खाँदा ३४९ जनाको मृत्यु भएको थियो।


