काठमाडौं– समाचारको विषयलाई लिएर परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई धम्की दिएको खबरले सामाजिक सञ्जाल तरंगित भएको छ।
मन्त्री राणाले स्वकीय सचिव कमल रावलको ह्वाट्सएप नम्बरबाट ज्ञवालीलाई बिहीबार दिउँसो १ः५३ बजे फोन गर्दै ‘नेपाल रिपब्लिक मिडिया र यसका सञ्चालकहरूलाई धराशयी गराइदिने चेतावनी दिएको’ खबर नागरिकले प्रकाशित गरेको छ। समाचार अनुसार नागरिक तथा रिपब्लिका दैनिकमा बिहीबार प्रकाशित पत्रकार दिलभूषण पाठकसम्बन्धी समाचारलाई लिएर परराष्ट्रमन्त्री राणाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई धम्की दिएकी हुन्।
काठमाडौंको हिल्टन होटलसम्बन्धी समाचार सामग्री प्रसारण गरेका कारण पत्रकार पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री राणाका छोरा जयवीरलाई हिल्टन होटलको सेयर प्रकरणमा जोडेको समाचारका विषयमा परेको उजुरी आधारमा प्रहरीको साइबर ब्युरोले जिल्ला अदालतबाट पाठकलाई पक्राउ पुर्जी लिएर प्रहरी परिचालन गरिसकेको छ। पाठकविरुद्ध उजुरी जयवीरले दिएका हुन्।
समाचार छापेको विषयमा परराष्ट्रमन्त्री राणाले दिएको धम्की सम्बन्धमा ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल, मानव अधिकार आयोग, पत्रकारिता र पत्रकारको सुरक्षाका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्थाहरू फ्रिडम फोरम, कमिटी टु प्रोटेक्ट जर्नालिस्ट र रिपोटर्स विथआउट बोडर्स, युएन वुमन र नेपालस्थित युनेस्को कार्यालयलाई समेत जानकारी गराएको समाचारमा बताइएको छ।
नागरिकले यो खबर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा परराष्ट्रमन्त्री राणाको आलोचना सुरु भएको छ।


