तेहरान- इजरायलले गरेको आक्रमणमा इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)का प्रमुख मारिएका छन्। शुक्रबार बिहान इजरायलले गरेको आक्रमणमा आईआरजीसीका कमान्डर इन् चिफ मेजर जनरल हुसेन सलामीको मारिएका हुन्।
इजरायलले आईआरजीसीको मुख्यालयमा हवाई आक्रमण गर्दा उनको मृत्यु भएको बताइएको छ। आईआरजीसीले पनि सलामी इजरायली आक्रमणमा मारिएको पुष्टि गरेको छ। आफ्नो संगठनका प्रमुख सलामी मारिए पनि इजरायलमाथि आफूहरूको प्रतिकारबाही नरोकिने उसले उल्लेख गरेको समाचार अलजजीरामा छ।
‘यस क्रूर अपराधका बावजुद, महान र क्रान्तिकारी राष्ट्र इरान… आश्वस्त छ कि इस्लामिक क्रान्तिकारी गार्ड कोर अन्य सैन्य बलहरू र इस्लामिक राष्ट्रका लडाकुहरूसँग मिलेर जियोनिस्ट शत्रु (इजरायली/यहुदी)लाई निर्णायक प्रतिक्रिया दिन तयार छ,’ आईआरजीसीको विज्ञप्तिमा उल्लेख छ। सलामी सन् २०१९ मा आईआरजीसी प्रमुख बनेका थिए।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आत्मरक्षाका लागि आक्रमण गरिएको उल्लेख गरेका छन्। यसअघि इरानले गत असोजमा इजरायलमाथि मिसाइल र ड्रोन हमला गरेको थियो।
उता अमेरिकी विदेशमन्त्री मार्को रूबिओले वक्तव्य जारी गर्दै मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अखडाहरूमा आक्रमण नगर्न इरानलाई चेतावनी दिएका छन्। इरानमा भएको पछिल्लो आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहेको उनको जिकिर छ।
‘इरानमाथि इजरायलले गरेको आक्रमणमा हाम्रो संलग्नता छैन। मध्यपूर्वमा रहेका हाम्रा सैनिकहरूको रक्षा हाम्रो पहिलो दायित्व हो। इरानले जवाफी हमलाको रूपमा हाम्रा सैनिक शिविरमा आक्रमण नगरोस्,’ रूबिओले भनेका छन्।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग परमाणु सम्झौता गर्न खोजे पनि त्यो सफल नभएपछि इजरायलले इरानमाथि आक्रमण गरेको बताइएको छ।
आईआरजीसी इरानी शक्तिशाली सशस्त्र बल हो, तर यो देशको राष्ट्रिय सेना भने होइन। राष्ट्रिय सेनाले देखिने गरी राजनीतिक गतिविधि गर्दैन। तर आईआरजीसीले राजनीतिक र सैन्य कामकारबाही गर्दै आएको छ।
सन् १९७९ मा रुहोल्लाह खामेनीले आधिकारिक रूपमा आईआरजीसीको स्थापना गरेका थिए। इस्लामिक गणतन्त्र इरानको अखण्डता सुनिश्चित गर्नु यसको संवैधानिक दायरा हो।
आईआरजीसीलाई बहराइन, क्यानडा, पाराग्वे, साउदी अरेबिया, स्वीडेन र संयुक्त राज्य अमेरिकाले आतंकवादी संगठनका रूपमा मान्ने गरेका छन्।
सन् २०२४ मा, आईआरजीसीमा लगभग १ लाख २५ हजार सैन्य कर्मचारीहरू थिए। उनीहरूका मुख्य सेवा शाखाहरूमा स्थल सेना, हवाइ सेना, नौसेना, कुड्स बल, र बासिज समावेश छन्। कुड्सले विदेशमा गतिविधि गर्छ। इजरायलले कुड्स बललाई मात्र आतंकवादी समूहको रूपमा तोकेको छ।
आईआरजीसीले खामेनीवाद (रुहोल्लाह खामेनीका सिद्धान्त), सिया मुस्लिमवाद, इस्लामी कानुन र इस्लामी न्याय/न्यायाधीश प्रणालीलाई सिद्धान्तकै रूपमा स्वीकार गर्छ। एन्टी-जियोनिजम (यहुदीविरोधी)र सुन्नीविरोधी क्रियाकलापमा संलग्न हुनु पनि यसका सैद्धान्तिक मान्यता हुन्।


