काठमाडौं- राप्रपा र रास्वपाले विरोध गरेकै अवस्थामा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डेले सदनमा सम्बोधन गरेका छन्।
सत्तापक्षका तर्फबाट नेकपा एमाले र विपक्षीका तर्फबाट माओवादी केन्द्र सदन खुलाउन सहमत भएपनि राप्रपा र रास्वपाले विरोध गरेका थिए।
एमालेका प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेबीच २ बुँदे सहमति भएपनि रास्वपाले त्यसमा चित्त नबुझाएकाले विरोध गरेका हुन्।
१३ गतेदेखि अवरुद्ध संसद खुलाउन सहमति भएपछि पनि यसमा अन्य दलले विरोध कामयै राखेका छन्।
गृहमन्त्री रमेश लेखकमाथि छानबिन पनि नहुने र छानबिन समिति पनि नबन्ने भएकाले त्यसलाई मान्न नसकिने भन्दै रास्वपा र राप्रपाले टेबलमा ठटाएर विरोध गरेका थिए।
गत जेठ ७ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि सुरू भएको भिजिट भिसा प्रकरणमा शुक्रबार तीन दलले सहमति जुटाएसँगै गृहमन्त्री लेखकको संकट तत्काललाई टरेको छ।
अख्तियारको टोलीले त्रिभुवन विमानस्थल अध्यगमन कार्यालयबाट भट्टराईलाई नियन्त्रणमा लिएपछि दैनिक ५० लाखदेखि एक करोड रुपैयाँसम्म लिने गरेको खुलासा भएको थियो।


