काठमाडौं- नेपाल जुत्ता चप्पल उत्पादक समूहले ‘प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला २०८०’ को आयोजना गर्ने भएको छ। सो समूहले ललितपुरमा जेठ १७ गतेदेखि एक महिनासम्म जुत्ता चप्पल व्यापार मेलाको आयोजना गर्ने भएको हो।
मेलाका संयोजक दिवाकर गिरीले मेला असारको १७ गतेसम्म सञ्चालन हुने बताए। एक महिना सञ्चालन हुने उक्त मेलामा पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने लक्ष्य राखेको उनले बताए। नमस्ते फुटवेयरको संयोजकत्वमा हुने मेला ललितपुर महानगरपालिकाको जावलाखेल खेल मैदानमा हुनेछ।
स्वदेशी ब्रान्डका जुत्ता चप्पलहरू उपभोक्ताबीच परिचित गराउने र स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरूको रुची जगाउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको आयोजकले बताएको छ।
‘स्वदेशी उत्पादनलाई माया गर्ने, स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने भावनाको विकास आम उपभोक्ता र सबै नेपालीहरूमा हुने हो भने देशमा सबै प्रकारका उद्योगहरू खुल्न सक्ने वातावरण बन्न सक्छ, देशको अर्थतन्त्र थोरै भए पनि मेलाले सहयोग पुर्याउने छ,’ संयोजक गिरीले भने। मेला बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म संचालन हुनेछ।
मेलामा गोल्डस्टार, रोयल शुज, बीएफ डियर हिल, बीएफ स्पोर्ट, क्रस रोड शुज, फस्टवाक शुज, सिल, हाई लाईफ, केटिएम र डिजे ब्रान्डका ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताचप्पल उपलब्ध हुनेछन्।
मेलामा एक जोडी जुत्ताको खरिदमा न्यूनतम २० देखि ५० प्रतिशतसम्म छुट पाइनेछ। ५ करोडको व्यापार हुने अपेक्षा राखिएको मेलामा प्रवेश निशुल्क छ।


