२०८३ कार्तिक ११ गते मङ्गलबार

खड्गलाई विद्या चुनौती

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २
IMG-20250615-WA0003

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी (खड्गप्रसाद) शर्मा ओली पार्टी र भातृसंगठनहरूमा चुनावी प्रक्रिया मन पराउँदैनन्। जेठ २५ गते काठमाडौँको कीर्तिपुरमा उद्घाटन भएको एमाले भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २४औँ सम्मेलनमा ओलीसहितको एमाले संस्थापन पक्ष चुनावी कार्यक्रमका पक्षमा थिएन। तीन दिनमा सक्ने भनिएको सम्मेलनको प्रक्रिया ६ दिनसम्म लम्बियो, मुख्य कारण थियो- चुनावी प्रक्रियामा नजाने ओली अडान। तर यसमा ओलीसहितको एमाले पङ्क्ति सफल हुन सकेन। अन्ततः सम्मेलनमा प्यानल बनाएरै चुनावी गतिविधि भए। महासचिव शंकर पोखरेलकी पत्नी सुजिता शाक्यले खडा गरेका डा सुजन कडरियालाई ओलीको पनि समर्थन जुटिसक्दा पनि अनेरास्ववियु प्रतिनिधिहरूले चित्त बुझाएनन्। प्रकाश पौडेलले प्यानलै बनाएर ओलीले खडा गरेका कडरियालाई चुनौती दिए। अन्तिममा मात्र ७ मतको अन्तरले उनी पौडेल (ओलीइतर पक्ष) पराजित हुन पुगे।

जेठ १३ गते पोखरामा अर्को भ्रातृ संगठन राष्ट्रिय युवा संघको सम्मेलन सम्पन्न भयो। यो सम्मेलनमा पनि ओली चुनावी प्रतिस्पर्धा गराउने पक्षमा थिएनन्। अध्यक्षका दाबेदारहरूलाई बोलाएर सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका पनि थिए। तर यहाँ पनि उनको निर्देशन काम लागेन। सुमन पुरीले चुनावी प्रतिस्पर्धा गरिछाड्ने अडान लिए। चुनावमा उनी पराजित त भए तर उनले पाएको मत पनि सम्मानजनक थियो। पुरी १ सय ८८ मतले मात्र पछि परे। पहिले नै अध्यक्ष बनिसकेका क्षितिज थेबेले ७९६ मत पाउँदा पुरीले ६०८ मत पाए।

यी दुवै संगठनको निर्वाचनमा ओली खेमाले उतारेकै उम्मेदवारको जित त भयो। तर ओलीको चाहनाविपरीत चुनाव भयो। ओलीको चाहनाविपरीत चुनावी माहोल मात्र बनेन, ओली कित्ताका उम्मेदवारहरूले पाएको मत पराजितहरूले पाएको मतभन्दा झिनो अग्रता मात्र बन्न थालेको छ। यसलाई विद्या खेमाले भने एजेन्डामा जित सुनिश्चित भइसकेको र पार्टीसत्ता बाहिर हुँदा पनि चुनावी अंकगणितमा आफू पक्षधरहरूले गजबको चुनौती दिन सफल भइसकेको रूपमा अर्थ्याउन थालेको छ।

एमालेका २३ वटा जनसंगठनमध्ये फागुनयता १६ वटामा महाधिवेशन भयो। यसअघि १३ वटा जनवर्गीय (भातृ) संगठनमा भने ओलीले विना निर्वाचन नै नेतृत्व हस्तान्तरणको वातावरण बनाउन सफल बनेका थिए।

ओलीको चाहनाअनुसार एमालेकै महाधिवेशनमा सर्वसम्मत हुने जस्तो अवस्था पनि थियो। एमालेको गत महाधिवेशनमा पनि भीम रावलको ढिपीका कारण अध्यक्ष पदमा मात्र नाम मात्रैको चुनाव भयो। चुनाव नगर्ने ओली नीतिलाई रावलले टक्कर त दिए तर रावलले पार्टीमा कुनै स्थान पाएनन्। ओलीको लगातारको अपमान सहिरहे। समयक्रममा रावललाई नै ओली पार्टीबाट निष्काशन गरिदिए।

तर पछिल्लो समय एमाले, यसका जनवर्गीय संगठनका गतिविधि र नेताकार्यकर्ताहरू ओलीको निर्देशनलाई चुनौती दिने कित्तातर्फको वजन बढिरहेको छ। यसमा कुनै न कुनै शक्ति रहेको कुरा एमाले कार्यकर्ता मात्र होइन, आम सर्वसाधारणसम्मले पनि पहिचान गरिसकेका छन्।

000

जेठ १९ गते ओलीले आफ्नो सामाजिक सञ्जालका एकाउन्टहरूमा ‘म झोले हो’ भन्ने वाक्यांश लेखेर पहेँलो पृष्ठभूमिमा आफ्नो फोटो टाँसेर बनाइएको तस्बिर अपलोड गरे। धेरै एमालेका नेताकार्यकर्ताहरूले उनकै शैली फलो पनि गरे। ओलीको फोटो भाइरल बनाउने कसरत गरे। उस्तै डिजाइनमा बनाइएका आफ्ना तस्बिर बनाएर सञ्जालमा राखे। तर ओलीको यो शैलीलाई एमालेकै नेताहरूले चुनौती पस्किए। उनका क्रियाकलापहरुलाई चुनौती दिन एमालेका नेताहरू, कतिपय त विगतमा ओलीसँग राम्रो सम्बन्ध बनाएका नेताहरू पनि सञ्जालीय मैदानमा अघि सरे। ओलीले सुरु गरेको ‘म झोले हो’ अभियानको काउन्टरमा ‘म झोले होइन’ अभियान सुरु भयो।

ओलीको ‘म झोले हो’ तस्बिर।

एमाले सांसद एवम् पूर्वमन्त्री गोकुल बास्कोटा विगतमा ओलीसँग राम्रो सम्बन्ध बनाएका नेता हुन्। अघिल्लो पटक प्रधानमन्त्री बनेका वेला ओली बालुवाटार बस्दा बाँस्कोटा बालकोटस्थित ओली निवासमा बस्ने गरेका थिए। यसपछि उनलाई ‌ओलीको ‘छोरा’ भएको टिप्पणी गर्नेहरू पनि थिए। तर पछिल्लो पटक प्रधानमन्त्री बनेदेखि नै ओलीसँग दूरी बनाउन थालेका बाँस्कोटा ‘म झोले हो’ अभियानसम्म आइपुग्दा काउन्टरवादी नेताका रूपमा दरिए। बाँस्कोटाले आफू एमालेको झोले नभएर ‘कार्यकर्ता’ भएको उल्लेख गरी ओलीलाई काउन्टर दिए। ओलीलाई बाँस्कोटाले ज्यामितीको उदाहरणबाट सन्देश दिएका छन्। ‘दुई विन्दुलाई सरल रेखाबाट जोड्न सकिन्छ, त्रिभूजका आन्तरिक कोणको योगफल १८० डिग्री हुन्छ। राजनीतिमा पनि त्यही हो अर्थात् म एमाले कार्यकर्ता हुँ। त्यहाँ मेरो विश्वासको मार्क हैन, समाज नै बदल्ने त्रान्तिकारी सिद्धान्त छ।’ यसपछि एमाले कार्यकर्ताहरू धमाधम काउन्टर अभियानमा उत्रिए।

ओलीले झोले अभियानको विरोध गर्नेहरूलाई ‘विचराहरू’ मात्र भन्न सके। प्रायजसो आफ्नो विरोध गर्नेहरूलाई भित्तामा पुर्‍याउने भाषाशैली अपनाउने ओलीले यसमा ठूलो विरोध गरेनन्। त्यसपछिका समारोहरूमा पनि झोले अभियानको विरोध गर्नेहरूमाथि खास खनिएनन्। ‘झोले होइन’ अभियानले आयतन विस्तारको लय पक्रियो। अन्तत: ओलीको ‘झोले अभियान’ रक्षात्मक बन्न पुग्यो। ओली अझ बढी रक्षात्मक देखिए।

जेठ २५ गते अनेरास्ववियुको सम्मेलन उद्घाटन गर्न ओली कीर्तिपुर पुगेका बेला विद्या भण्डारी पूर्वीयात्रामा थिइन्। एमालेको ब्यानरमा नै कार्यक्रम र कार्यकर्ता भेला गर्न लागेको सूचना पाएलगैत्तै ओली पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति असन्तुष्ट देखिएका थिए। उक्त असन्तुष्टि व्यक्त गर्न ओलीले अनेरास्ववियुको सम्मेलनको मञ्चलाई मैदान बनाए।

‘एमालेमा फलाना आउने रे’ भनेर हल्ला चलाउनुको अर्थ नरहेको भनेर ओलीले विद्या भण्डारीमाथि आक्रोश पोखेका थिए। ‘तल तल ग्रुप बनेको सुनिरहेको छु। यो ग्रुप र त्यो ग्रुप एमालेमा आवश्यक छैन। अहिले एमालेभित्र अर्को खेल हुन खोजेको छ। फलाना आउने रे, फलना आउने रे। को महासचिव, को उपाध्यक्ष, को कोषाध्यक्ष बन्ने रे!’ ओलीको टिप्पणी थियो।

विद्याले तल गएर एमालेका कार्यकर्तालाई आफूतिर तान्न प्रयास गरेको महसुस गरेर ओलीले असन्तुष्टि देखाएका थिए। ‘पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्नेलाई जवाफ दिनुस्। पार्टीका आन्तरिक कुरा छन् भने पार्टीमै गरौँ,’ उनले भने, ‘पार्टीलाई खुइल्याउने, होच्याउने, अपमान गर्ने कुरा आन्तरिक हुँदैन। बाहिर गएर गरिने हमलालाई आन्तरिक मामिला भन्न मिल्दैन। बाहिर गएर कसैले ढुंगा हान्छ भने सहिँदैन।’ झोले अभियानमा आफूमाथि प्रहार गरिएको र यसमा अबको नेतृत्व लिने प्रयासमा रहेको समूहले काउन्टर अभियान चलाएको ठानेका ओलीले त्यसलाई पार्टीलाई खुइल्याउने, होच्याउने र अपमान गर्ने कदमका रूपमा व्याख्या गरेका थिए भने आफू आफूखुसी तलतल (जिल्लाहरूमा) ग्रुपिजम् गरेको उनको आरोप थियो।

जेठ २७ गते बिहान विराटनगर विमानस्थलमा पूर्वराष्ट्रपति भण्डारीले दुई दिनअघि ओलीले आफूमाथि गरेको भाषिक आक्रमणको जवाफ फर्काइदिइन्। एमालेमा आफूले संगठित सदस्यता नलिँदैदेखि काम गरेकोले एमालेका कार्यक्रमहरूमा सहभागी हुन कसैसँग अनुमति लिनुपर्ने आवश्यकता नरहेको जवाफ ओलीको कानमा नै ठोक्किने गरी बताइदिइन्।

‘राष्ट्रपति हुनुभन्दा पहिले, संगठित सदस्यता लिनुभन्दा पहिले नै पार्टीमा काम गरेको। चिनजान ठूलै छ। पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविकै हुन्छ’, उनले भनिन्, ‘मैले पनि समाजसँग साक्षात्कार गर्दै गर्नुपर्‍यो, भेटघाट गर्दै गर्नुपर्‍यो।… त्यस हिसाबले देशभित्र घुमफिर गर्न मैले नेकपा एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनु पर्दैन।’

भण्डारी चीनबाट फर्किएपछि पूर्वी जिल्लाको दौडाहामा निस्किएकी थिइन्। जेठ १० गते चीन पुगेकी भण्डारी जेठ १९ गते स्वदेश फर्किइन्। जेठ २७ गते विराटनगर पुगेर ओलीलाई चुनौती पस्किइन्।

चीन जाँदा विद्या एमाले नेतृको हैसियतमा गएकी थिइन्। एमालेका नेताहरूको नेतृत्व उनैले गरेकी थिइन्। चीन भ्रमण राम्रो भएको प्रतिक्रिया भण्डारीको छ। चीन भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले उच्चस्तरीय भेटवार्ता गरेकी थिइन्। उनले गान्सु प्रदेशमा चिनियाँ उपराष्ट्रपति हान चेङसँग भेटवार्ता गरेकी थिइन्।

हान चेनसँग विद्या।

विशेषगरी चीनले नेपालमा कम्युनिस्टहरूलाई एक बनाउने प्रयास विगतदेखि नै गर्दै आएको छ। नेकपाकालको एकता टिकाउन तत्कालीन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कुनै कसर नराखेकी पनि थिइन्। तर ओली-माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको एकता टिकाउन उनी सफल बनिनन्। तर पनि चीनले नेपालमा कम्युनिस्ट एकताको सदाशयतामा मात्र आफ्नो भूमिकालाई सीमित बनाएको छैन, कुनै न कुनै कसरत गरिरहेकै छ। विद्यालाई राष्ट्रपति भइसकेको व्यक्ति भएकाले सबै कम्युनिस्ट नेताहरूका लागि स्वीकार्य पात्र बन्न सक्ने भएकाले उनलाई वाम एकताका लागि अघि बढ्न र त्यसमा आफूहरूको सहयोग हुने वचन दिएकाले विद्या उत्साहित भएको विश्लेषण भइरहेको छ।

एमाले स्थायी कमिटी सदस्य कर्ण थापा ओली कित्ता छोडेर भण्डारी कित्तामा पुगेका छन्। उनी एमालेको नेतृत्वमा आउनुपर्छ भनी केही समययता सार्वजनिक अभिव्यक्ति पनि उनले दिन थालेका छन्। थापाका अनुसार विद्या राजनीतिमा आइसकिन्। अनि एमालेको एउटा पंक्ति ओलीलाई पदलोलुप बनाउने मुडमा रहेको समेत उनको भनाइ छ।

गत वर्ष भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गरेपछि ओलीको मनमुटुमा ढ्यांग्रो बज्न थालेको हो। २०७२ असोजदेखि २०७९ फागुनसम्म राष्ट्रपतिको जिम्मेवारी पूरा गरेकी भण्डारीले एमालेमा सक्रिय हुने लक्ष्यका साथ पार्टी सदस्यता नवीकरण गराएकी हुन्। २०८१ वैशाख १ गते नयाँ वर्षकै छेको पारेर उनले सदस्यता नवीकरण गरेको विषय सार्वजनिक भएको छ।

पार्टी सदस्यता नवीकरण गरेपछि गत वर्ष जेठ १६ गते एमालेले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’को उद्घाटनमा भण्डारी प्रमुख अतिथि थिइन्। उनैले भेला उद्घाटन गरिन्। दुई दिन चलेको भेलाको उद्घाटन गर्दा अध्यक्ष केपी ओली अतिथिका रुपमा मात्रै सीमित भएर देखावटी ताली बजाए। यसपछि त यी दुई नेताबीचको द्वन्द्व कानेखुसीमा मात्र सीमित भएन, सार्वजनिक समारोसम्मै पुग्यो। अहिले युवा संघ र अनेरास्ववियुमा ओलीको निर्देशनलाई चुनौती दिने गतिविधिहरू अन्तिममा गएर विद्यासम्म ठोक्किने गरेको एमालेकै नेताहरूले बताउन थालेका छन्। विद्याका क्रियाकलापले ‌ओलीलाई झस्काइरहेको छ, निद्रा खल्बल्याइरहेको छ।

फागुन २३ गते विराटनगरमा सम्पन्न मोरङ एमालेको १०औं जिल्ला अधिवेशनमा अध्यक्ष केपी शर्मा ओली पक्ष पराजित भयो। अजम्वर राई नेतृत्वको प्यानलले ओली पक्षलाई पराजित गरेको थियो। वैशाखमा भएको विराटनगर महानगर कमिटीको निर्वाचनमा पनि ओलीइतर पक्ष हावी भयो। महानगरको दोस्रो अधिवेशनबाट बलराम गिरी अध्यक्षमा निर्वाचित भए। ओली नेतृत्वको संस्थापन पक्षका रोहित कोइरालालाई ५२ मतले पछि पारेर गिरीले जित आफ्नो नाममा दर्ता गराए। मोरङमा भएका यी दुई निर्वाचनले ओली समूहलाई राष्ट्रव्यापी रूपमा कमजोर कित्तातर्फ धकेल्न सुरु गर्‍यो। यी दुवै निर्वाचनमा ओली पक्षलाई चुनौती दिन मैदानमा खटिएका एमालेका नेता हुन् विनोद ढकाल। ढकाल एमालेका पुराना नेता हुन्। ओलीसँग लामो समय उनको निकट सम्बन्ध रह्यो तर पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी कित्तामा ढकाल पुगेका छन्।

अबको महाधिवेशनमा विद्या ओलीलाई रोक्ने पक्षमा छिन्। यसका लागि विगतमा ओलीले नै अख्तियार गरेको रणनीति उमेरको हदबन्दीलाई प्रमुख अस्त्र बनाउने पक्षमा छिन्। विद्याको उमेर ओलीको भन्दा १० वर्ष कम छ। ७० वर्षे उमेरको हदबन्दीको विगतको व्यवस्थालाई देखाएर ६४ वर्षीया विद्या ७४ वर्षीय ओलीलाई महाधिवेशनमा किनारामा पुर्‍याउने ध्याउन्नमा छिन्। तर ओली भने ७० वर्षे उमेरहदको प्रावधानले फेल खाइसकेको बताउन थालेका छन्। उता एमालेकै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भने ओलीको उक्त अभिव्यक्तिको विपक्षमा उभिइसकेका छन्। अर्का उपाध्यक्ष युवराज ज्ञवालीसमेत पार्टी विधानमा रहेको ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रावधान आउँदो महाधिवेशनमा लागू हुनुपर्ने बताइरहेका छन्।

विगतमा एक व्यक्ति एक पदको आवाज उठाउने ‌ओली नवौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएयता पूर्वमान्यताबाट ‘यु-टर्न’ भएका छन्। १०औँ महाधिवेशनमा ७० वर्षे उमेरहदको व्यवस्थालाई तोडमोड गरेर अध्यक्षमा दोहोरिए। अहिले उमेरहद र दुई कार्यकालभन्दा बढी एउटै पदमा रहन नमिल्ने व्यवस्था हटासकेका छन्। यो विषयले ओली-विद्या दूरी अझ फराकिलो बनाएको छ।

भण्डारीलाई पार्टीमा आउन नदिन ओलीले विभिन्न योजना बनाउन थालेका छन्। पछिल्ला दिनमा ओलीले हरेकजसो सार्वजनिक कार्यक्रममा भण्डारी र भण्डारीलाई पार्टीमा फर्काउन लागिपरेकाहरूलाई घुमाउरो किसिमले पार्टीभित्र गुट/उपगुट सिर्जना नगर्न र कसैले पार्टीलाई कमजोर नठान्न भन्दै चेतावनीमूलक अभिव्यक्ति दिँदै आइरहेका छन्।

एमालेले भदौ २०-२२ का लागि विधान महाधिवेशन गर्ने मिति तोकेको छ। विधान महाधिवेशनको पूर्वसन्ध्यामा यो व्यवस्थाबारे सार्वजनिक बहस सुरु भएको छ। विधान महाधिवेशनमा अध्यक्ष ओली पूर्वराष्ट्रपति भण्डारीलाई वैधानिक रूपमै रोक्ने तयारीमा छन् भने भण्डारी पार्टी सचिवालयले निलम्बन गरेको उमेरहद र कार्यकालसम्बन्धी प्रावधान राखेरै विधान पारित गराउने पक्षमा छिन्। ओली भने विधानमै राष्ट्रपति, उपराष्ट्रपतिजस्ता सर्वोच्च पदमा पुगिसकेका व्यक्ति पार्टीमा नेतृत्वमा फर्किन नपाउने व्यवस्था राख्न चाहन्छन्।

भण्डारी विधान महाधिवेशनअघि देशव्यापी अभियान चलाउने रणनीतिमा छन्। त्यसका लागि १४ असारको मदन जयन्तीलाई साइतका रूपमा रोजिएको छ। वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा जनताको बहुदलीय जनवाद (जबज) बारे अन्तक्रियालगायतका कार्यक्रम लिएर जिल्ला–जिल्लामा अभियान चलाउने तयारी भएको बताउँछन्।

अनेरास्ववियु सम्मेलन उद्घाटनमा ओलीले ७० वर्ष उमेरहद फेल खाइसकेको मात्र बताएनन् ओलीले चीन, साइप्रसलगायत देशमा उमेरहदको प्रबन्ध हटाइएको बताउँदै नेतृत्वलाई उमेरले फरक नपार्ने टिप्पणी समेत गरेका छन्। भण्डारी पक्षमा खुलेका कर्ण थापा भने ओलीले नै ७० वर्ष उमेरदको अगुवाई गरेकाको उल्लेख गर्दै प्रतिप्रश्न गर्छन्, ‘त्यो कुरा (७० वर्षे हदबन्दी) बाट उहाँ कसरी पछाडि हट्नुहुन्छ?’ अनेरास्ववियुमा उमेर हद लगाउने तर पार्टीमा हदबन्दीको व्यवस्था मान्दिनँ भन्नु विरोधाभास भएको उनको भनाइ छ।

प्रकाशित: २०८२ असार २ गते सोमबार ०८:२०
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना