काठमाडौँ- प्रतिनिधिसभा बैठकमा रास्वपा सांसदले लगाएको नीलो रिबन लगाएर अभद्र व्यवहार प्रदर्शन गरेको विषयमा कांग्रेसले प्रश्न उठाएपछि अब के हुन्छ भन्ने चर्चा सुरु भएको छ।
सदनमा बैठक सुरु हुने बित्तिकै सभामुख देवराज घिमिरेले रास्पपाकी चन्दा कार्कीलाई समय दिएका थिए। उनले बोलेपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नियमापत्ति गरेका थिए।
घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३० लाई कोट गर्दै घिमिरेले रास्वपाका सांसदहरूले लगाएको ‘नीलो रिबन (स्कार्फ)’का विषयमा उनले नियमापत्ति गरेका थिए।
प्रमुख सचेतक घिमिरेले नियमापत्तिपछि सभामुख घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरे।
रास्वपा सांसदले अभद्र व्यवहार देखाएको भन्दै कांग्रेसले नियमापत्ति गर्नु र सभामुखले तत्कालै बैठक स्थगन गर्ने काम भएकाले सभामुखले कारबाही नियमावली अनुसार कारवाही प्रक्रिया अघि बढाउनका लागि समय लिएको विश्वलेषण सांसदहरूले गरिरहेका छन्। यद्यपि सभामुखले किन बैठक स्थगन गरिएको भन्ने जानकारी दिएका छैनन्।
घिमिलेले रास्वपा सांसदको क्रियाकलापलाई अभद्र व्यवहारको संज्ञा दिँदै उनीहरूको क्रियाकलाप रोक्न आदेश दिन सभामुखसँग माग गरेका थिए।
सभामुखले चेतावनी/निर्देशन दिँदा पनि अटेर गरे सम्बन्धित सांसदलाई बैठक कक्षबाट निष्काशन गर्न सक्ने व्यवस्था नियमावलीमा छ।
नियम ३१ मा (२) मा सभामुखको आदेश पाएपछि पनि बैठक कक्षबाट तुरून्त बाहिर नगएमा सभामुखले निजलाई मर्यादापालकको सहयोग लिई बाहिर निकाल्न सक्ने व्यवस्था छ। बैठकबाट निष्कासित सदस्यले त्यसपछिको तीन दिनसम्म सभा वा कुनै समितिको बैठकमा भाग लिन नपाउने व्यवस्था छ।
यसरी निकालिएको सूचना सचिवले सोको सूचना सम्बन्धित समिति तथा संसदीय दललाई दिनेछ। तर सभामुख यो प्रक्रियामा अघि बढ्छन् या प्रमुख सचेतकहरूलाई बोलाएर अघि बढ्छन् भन्ने प्रष्ट भइसकेको छैन।
बैठक सुरु हुनासाथ सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय दिएका थिए।
उनले भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको भन्दै उनले प्रश्न उठाएकी थिइन्। भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गरेको उनले बताइन्।


