काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय पर्साका तत्कालीन अधिकृत कमलराज गौतमविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। गौतमले सार्वजनिक पदमा कार्यरत रहँदा आफ्नो पदीय मर्यादा विपरीत गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो।
२०५५ सालदेखि २०७९ सालसम्म सरकारी सेवामा आवद्ध गौतमले २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ अवैधानिक आय गरेको देखिएको आरोप आयोगको छ।
उक्त अवधिमा कूल वैधानिक आय २ करोड ८९ लाख २० हजार २६८ मात्र देखिएको तर सोही अवधिमा उनले कूल ५ करोड ४० लाख ९८ हजार ९५५ सम्पत्ति खर्च तथा लगानी गरेको अख्तियारको अनुसन्धानले देखाएको छ। अवैधानिक आयलाई बिगो कायम गर्दै आयोगले विशेषमा मुद्दा पुर्याएको हो।
गौतमले श्रीमती सरला नेपालका नाममा खरिद गरेको सम्पत्ति पनि सोही गैरकानूनी स्रोतबाट प्राप्त भएको देखिएकाले सरला नेपाललाई समेत प्रतिवादी बनाई जफत प्रयोजनका लागि मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
गौतमले राष्ट्रसेवक पदमा रहँदा पेस गर्ने सम्पत्ति विवरणमा झुठा विवरण पेस गरेको पनि आयोगको दाबी छ।


